सिडेन निर्वाचनमा इ. कुलराज खनालले गरे महासचिवमा उम्मेदवारी घोषणा



काठमाडौं । आगामी भदौ १४ गते हुने ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स’ (सिडेन) को आठौँ कार्यकारिणी समितिको महासचिव पदका लागि इन्जिनियर कुलराज खनालले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।

बुधबार आयोजित कार्यक्रममा उम्मेदवारी घोषणा गर्दै खनालले सिडेनलाई गुटगत स्वार्थभन्दा माथि उठाई लोकतान्त्रिक इन्जिनियरहरूको साझा संस्था बनाउन आफ्नो प्रतिबद्धता व्यक्त गरे । उनले हाल संगठन विभिन्न स्वार्थ समूहमा विभाजित भई अग्रज इन्जिनियरहरूको योगदानलाई उपेक्षा गर्ने प्रवृत्ति मौलाइरहेको उल्लेख गर्दै, विजयी भएमा त्यसको अन्त्य गर्ने अठोट प्रकट गरे ।

खनालले भने, “गुटगत राजनीतिमा नरमाउने तर योगदान गर्ने सबैलाई समेट्ने वातावरण बनाउने मेरो अठोट हो। अहिले संगठनलाई व्यक्तिगत स्वार्थपूर्ति र अपारदर्शी नियुक्तिको थलो बनाइएको छ, यो सिलसिला यसै पटकबाट अन्त्य हुन्छ।”

उनले सदस्यता वितरणलाई पारदर्शी र व्यवस्थित बनाउने, अन्य दलसँग आबद्ध व्यक्तिहरूलाई सदस्यता बाँडेर संस्थालाई कमजोर पार्ने प्रवृत्तिको अन्त्य गर्ने प्रतिबद्धता पनि जनाए । नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) मा देखिएको ‘आसेपासे मात्र सिफारिस गर्ने प्रवृत्ति’ को विरोध गर्दै उनले आफ्नाे उम्मेदवारीलाई न्यायोचित विकल्पका रूपमा प्रस्तुत गरेका छन् ।

राजनीतिक यात्रामा काठमाडौँ इन्जिनियरिङ कलेज स्वतन्त्र विद्यार्थी युनियन सदस्यदेखि सुरुवात गरेका खनाल नेविसंघ स्ववियु सभापतिमा अत्यधिक मतले विजयी भएका थिए । उनले प्रविधिक विद्यार्थी परिषद्को केन्द्रीय अध्यक्ष, नेपाल विद्यार्थी संघका निर्वाचित केन्द्रीय सदस्य तथा सिडेन लुम्बिनी प्रदेशका संस्थापक सचिवको भूमिका समेत निर्वाह गरिसकेका छन् ।

खनालले लोकतान्त्रिक इन्जिनियरहरूलाई एकजुट भई आफूलाई केन्द्रीय महासचिव पदमा निर्वाचित गराउन अपिल गर्दै सिडेनलाई नीति–प्रधान संस्था बनाउने प्रतिवद्धता दोहोर्‍याए ।

सिडेनमा यसपटक नेतृत्वका लागि समूहगत प्रतिस्पर्धा हुने निश्चित भएको छ । शेरबहादुर देउवा पक्षबाट रविभुषण झाको नेतृत्वमा प्यानल बनेको छ भने अर्को प्यानलबाट धनेन्द्र केसी अध्यक्ष पदमा उम्मेदवार बनेका छन् । तर इन्जिनियर खनाल भने महासचिव पदका लागि प्यानल बिना स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति : २०८२ भाद्र १२ गते बिहिवार