काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणले ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन २०८०/८१ को तुलनामा ३७.३२ प्रतिशत कम हो । अघिल्लो वर्ष प्राधिकरणले १० अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको थियो ।
कुलमान घिसिङको कार्यकालमा प्राधिकरण निरन्तर नाफामा रहे पनि हाल नाफामा आएको गिरावटलाई यसपटक विशेष रूपमा हेरिएको छ । सरकारले कुलमानलाई बर्खास्त गरेसँगै प्राधिकरणको नाफा घट्नु संयोग मात्रै नभई व्यवस्थापनमा देखिएको चुनौतीको परिणाम हो भन्ने विश्लेषण पनि गर्न सकिन्छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार विदेशी मुद्रा, विशेष गरी जापानी येनमा भएको अधिमूल्यन, प्रशासनिक खर्चको वृद्धि र औसत विद्युत् बिक्री मूल्यमा आएको कमीले नाफा घटाएको हो । तथापि, उनले आउँदा आर्थिक वर्षमा नाफा पुनः वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।
वित्तीय सूचकाङ्कमा केही गिरावट देखिए पनि प्राधिकरणको उत्पादन क्षमता र सेवा विस्तार भने निरन्तर अघि बढेको छ । आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा राष्ट्रिय विद्युत् प्रणालीमा जडित कुल विद्युत् उत्पादन क्षमता ३ हजार ५९१ मेगावाट पुगेको छ । यस अवधिमा मात्र ४३४ मेगावाट थपिएको प्राधिकरणले जनाएको छ ।
यस्तै, आन्तरिक विद्युत् खपत अघिल्लो वर्षको तुलनामा १०.७ प्रतिशतले बढ्दै ११ हजार ३१९ गिगावाट घण्टा पुगेको छ । राष्ट्रिय ग्रिड पहुँच झन्डै ९८ प्रतिशत जनतामा पुगेको छ भने विद्युत् चुहावट ०.४७ प्रतिशतले घटेको छ ।
आर्थिक संरचनामा समेत प्राधिकरणको प्रभाव विस्तार भएको देखिन्छ । २०८१/८२ मा प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । उत्पादन, वितरण र व्यवस्थापनमा निरन्तर सुधार भए पनि नाफा घट्नुले प्राधिकरणका लागि आगामी वर्ष चुनौती र अवसर दुवै बनेको छ ।





