कोरियन भाषा परीक्षाका लागि १ लाख २ हजारले दिए आवेदन



काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा काम गर्न इच्छुक नेपालीले ठूलो संख्यामा आवेदन दिएका छन्। साउन २६ गतेदेखि ३१ गतेसम्म खुला गरिएको आवेदनमा एक लाख २ हजार ५६४ जनाले फारम भरेको ईपीएस कोरिया शाखाले जनाएको छ।

शाखाका अनुसार यस पटकको भाषा परीक्षाबाट करिब ५ हजार ३ सय जना मात्र उत्तीर्ण हुने अनुमान छ। उत्तीर्ण हुनेमध्ये उत्पादनमूलक क्षेत्रमा ३ हजार ५ सयकृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय जना रहनेछन्।

तर, आवेदन दिनेहरुको संख्या धेरै भएकाले उत्पादन र कृषि क्षेत्रतर्फका आवेदकलाई छुट्याउने कार्य अझै बाकी रहेको शाखाले जनाएको छ।

कोरियाली श्रम बजारमा रोजगारी पाउन चाहने नेपाली युवाको आकर्षण यसपटक पनि उच्च रहेको यस तथ्यांकले देखाएको छ।

प्रकाशित मिति : २०८२ भाद्र १ गते आइतवार