गिरीबन्धु, लिचीबारी हुँदै एमालेले राजा वीरेन्द्रको सम्पत्तिमा समेत आँखा लगायाे

“खाली जग्गा देख्यो कि एमालेको आँखा पुग्छ”


काठमाडौं  । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सत्तारूढ दल नेकपा (एमाले)प्रति कडा प्रहार गर्दै भूमिसम्बन्धी विधेयकलाई स्वार्थकेन्द्रित निर्णयको संज्ञा दिएका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टीको भेला सम्बोधन गर्दै उनले भने “यो सरकारले ल्याएको भूमिसम्बन्धी विधेयक कुनै सर्वसाधारणका लागि होइन, एमालेको स्वार्थमा खाली जग्गा मास्ने नियतसहित आएको हो।”

उनले एमाले नेताहरूको दृष्टि सदैव जग्गा र सम्पत्तितर्फ जाने गरेको आरोप लगाउँदै उदाहरण समेत प्रस्तुत गरे।
👉 “जहाँ खाली जग्गा देख्यो त्यहाँ एमालेको आँखा गइहाल्दो रहेछ। गोकर्ण रिसोर्ट हेर्नुस्, तत्कालीन राजा वीरेन्द्रको सम्पत्तिमा एमालेको आँखा हेर्नुस्, पोखराको लिचीबारी हेर्नुस्, गिरीबन्धु टी स्टेट हेर्नुस्—जताततै एमालेको मात्रै सुनिन्छ,” – कोइरालाले भने।

घुस प्रकरण र मन्त्रीको भूमिका

उनले पछिल्लो समय चर्चामा आएको घुस डील प्रकरणलाई पनि जोड्दै संघीय मामिला मन्त्री राजकुमार गुप्ताले राजीनामा दिए पनि सोही प्रकरणमा मुछिएका भूमि सुधार मन्त्री बलराम अधिकारी अझै पदमा बसिरहेको औंल्याए।
उनको भनाइमा एमालेकै कास्की जिल्ला कमिटीले समेत मन्त्री अधिकारीको राजीनामा माग्दा पनि सरकारले चुपचाप बस्नु शंकास्पद छ।

७ बुँदे सहमति र निजामती सेवा विधेयक

डा. कोइरालाले सरकारले विगतमा गरेको ७ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे। साथै, निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ हटाउने निर्णय एमालेको स्वार्थअनुरूप गरिएको दाबी गर्दै उनले एमालेलाई “छलकपटबाहेक केही नगर्ने पार्टी” को संज्ञा दिए।

प्रकाशित मिति : २०८२ भाद्र १ गते आइतवार