रवि लामिछानेलाई नक्खु कारागार ल्याउने निर्णय



काठमाडौं । पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नक्खु कारागार सरुवा गर्ने निर्णय भएको छ।

कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार, लामिछानेले मञ्जुरीनामा नै नक्खु कारागारमा राखिदिन लिखित माग गरेका थिए। “उहाँको मञ्जुरीनामा स्पष्ट रूपमा नक्खु कारागार भनेको हुँदा सोही अनुसार निर्णय गरेर पठाएका हौं,” शर्माले बताए।

अब रुपन्देही कारागार, त्यहाँको सीडीओ कार्यालय र प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी उनलाई नक्खु कारागार पठाउनेछ।

शर्मा हालै गृह मन्त्रालयबाट सरुवा भई कारागार विभागको जिम्मेवारी सम्हाल्न पुगेका हुन्। यसअघि विभागमा नारायण प्रसाद भट्टराई महानिर्देशक रहेका थिए।

गृहमन्त्री रमेश लेखकले पनि गत बिहीबार प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा लामिछानेको कारागार सरुवा प्रक्रिया अघि बढिरहेको बताएका थिए।

प्रकाशित मिति : २०८२ साउन ३१ गते शुक्रवार