काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले अनुमति दिएको भए पनि जेल स्थानान्तरण नगर्नु दुःखद् भएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै केसीले अदालतले स्थानान्तरणको आदेश दिए पनि कार्यान्वयन नगर्नु केवल दुःखद् मात्र नभई नबुझिने कुरा भएको बताए।
उनका अनुसार, “कसैप्रति पनि कानुनी प्रक्रियाले हुने निर्णय आफ्नो ठाउँमा छ। तर राष्ट्रिय पार्टीको सभापति र पूर्वमन्त्री समेत भएको व्यक्ति (रवि लामिछाने)लाई अदालतले स्थानान्तरणको अनुमति दिँदा दिँदै पनि स्थानान्तरण नगरिनु दुःखद् मात्र होइन, नबुझिने कुरा हो।”
यसैबारे राष्ट्रिय मानव अधिकार आयोगले पनि मंगलबार विज्ञप्ति जारी गर्दै अदालतको आदेश हुँदाहुँदै लामिछानेलाई स्थानान्तरण नगरिएको पाइएको जनाएको छ।
रास्वपा र लामिछाने निकट नेताहरूले गृहमन्त्री रमेश लेखकलाई जेल स्थानान्तरण रोक्न आदेश दिएको आरोप लगाउँदै आएका छन्। सहकारी बचत रकम ठगी मुद्दामा पुर्पक्षका लागि रवि लामिछाने हाल रूपन्देही कारागारमा रहेका छन्।





