ललितपुर । ललितपुर जिल्लामा खानेपानीको समस्या चर्किँदै गएको छ। गत वर्ष असोज १२ गते आएको बाढीले फर्पिङ र अन्य खानेपानी संरचना क्षति पु¥याएपछि धेरै स्थानमा धारामा पानी नआउने अवस्था अझै कायम छ।
ललितपुर महानगरपालिका–२५ र १८ (भैँसेपाटी), २१ र २२ (बुङ्गमती) लगायतका क्षेत्रमा महिनौँदेखि नियमित पानी आपूर्ति रोकिएको छ। कतिपय स्थानमा तीन सातासम्म धारामा पानी नआएपछि स्थानीयहरू सार्वजनिक मुहान र कुवामा घण्टौँ लाइन बस्न बाध्य भएका छन्। सम्पन्न वर्गले ट्याङ्करबाट पानी किन्न सक्ने भए पनि सर्वसाधारणको भान्सामा महँगो ट्याङ्करको पानी समेत पुग्न नसकेको गुनासो छ।
वडाध्यक्ष र स्थानीय अगुवाहरूले सम्बन्धित निकायमा पटक–पटक गुनासो गरे पनि समस्या समाधान ढिलो भएको छ। “गत वर्षको बाढीले पाइपलाइन क्षति पु¥यायो। अस्थायी टालटुल भए पनि स्थायी समाधान नभएकाले समस्या रह्यो,” रवीन्द्र महर्जनले बताए। उनले फर्पिङबाट आएको पाइप जडान गर्न वडास्तरमै दुई सातासम्म सक्रिय भएर काम गर्नुपरेको उल्लेख गरे।
उपत्यका खानेपानी लिमिटेड (केयुकेल) ललितपुर शाखा कार्यालयका प्रमुख विजय विश्वकर्माका अनुसार, फर्पिङ स्टिम प्रणालीबाट दैनिक दुई करोड लिटर पानी ल्याउन सकिने भए पनि पाइपमा क्षति पुगेका कारण हाल डेढ करोड लिटरभन्दा कम मात्र ल्याउन सकिएको छ। मेलम्चीको आपूर्ति पनि बन्द भएकाले मागअनुसार पानी दिन नसकिएको उनले स्वीकार गरे।
“नल्लु खोला, वासुदु, गोदावरीको चारघरे लगायतका स्थानीय मुहान व्यवस्थित गर्न सके ललितपुरमा खानेपानी समस्या समाधान हुन सक्छ,” प्रमुख विश्वकर्माले भने।
स्थानीयको गुनासो अनुसार, मन्त्री आवासमा नियमित पानी पुग्ने तर सामान्य घरधुरीमा हप्तामा एक घण्टाजति मात्र आपूर्ति हुने अवस्था छ। कुसुन्तीका धनराज घिमिरे भन्छन्, “महिनामा दुई ट्याङ्कर पानी किन्छौँ, महसुल तिर्छौँ, तर पानी भने नपाएर दिन काटिरहेका छौँ।”
खानेपानी जस्तो संवेदनशील सेवामा राज्यले तत्काल ध्यान नदिए ललितपुरको पानी संकट अझै गहिरिँदै जाने चेतावनी सरोकारवालाले दिएका छन्।





