दुर्गा प्रसाईंसँग अदालतले माग्यो २८ लाख धरौटी



काठमाडौं, साउन १९। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले दुई फरक मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले बैंकिङ कसुर तथा राजावादी आन्दोलनसँग सम्बन्धित हिंसात्मक प्रदर्शनको आरोपमा उठाइएको मुद्दामा उनलाई क्रमशः २५ लाख र ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। न्यायाधीशद्वयले उनलाई तत्काल निर्दोष भन्न नमिल्ने भए पनि क्यान्सर रोगबाट पीडित रहेको अवस्था तथा अन्य सन्दर्भहरूलाई विचार गर्दै धरौटीमा छाड्न आदेश दिएका हुन्।

त्यस्तै, १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको हिंसात्मक प्रदर्शनसम्बन्धी अर्को मुद्दामा उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईंलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। सो आन्दोलनमा उनले अग्रसर भूमिका खेलेको प्रहरीको आरोप छ।

झापाको बिर्तामोड नगरपालिका–५ निवासी ५४ वर्षीय प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकका रूपमा सो आन्दोलनमा सहभागी भएका थिए। प्रहरीका अनुसार, उनका अभिव्यक्तिले भिडलाई उत्तेजित पार्नाका साथै निषेधित क्षेत्र तोड्न लगाउने तथा सुरक्षाकर्मीलाई गाडीले पेल्ने प्रयास भएको थियो।

यसअघि जिल्ला अदालत काठमाडौंले उनीमाथि राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवसम्बन्धी अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सोही आदेशविरुद्ध प्रसाईंले उच्च अदालतमा पुनरावेदन दिएका थिए।

उक्त आदेशपछि उनी डिल्लीबजार कारागारमा रहेका थिए भने उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइएको थियो।

प्रकाशित मिति : २०८२ साउन २० गते सोमवार