बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँको दाबी

कांग्रेस–एमाले गठबन्धनबाट ६४ सांसदको समर्थन


हेटौंडा । बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बन्ने दाबी पेस गरेका छन्।

मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनापछि प्रदेश प्रमुख दीपकप्रसाद सापकोटाले संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेअनुसार बानियाँले सोमबार दाबी पेश गरेका हुन्।

उनले नेपाली कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको दाबी गरेका छन्। ११० सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५६ सांसद आवश्यक पर्ने भएकाले बानियाँको पक्षमा स्पष्ट बहुमत देखिन्छ।

प्रदेश प्रमुखले दाबी पेश गर्ने समय मंगलबार दिउँसो २ बजेसम्मको लागि निर्धारण गरेका छन्। अब बानियाँ मुख्यमन्त्री नियुक्त हुने प्रबल सम्भावना देखिएको छ।

प्रकाशित मिति : २०८२ साउन २० गते सोमवार