खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पायो ८१४ परीक्षण प्यारामिटरमा एक्रिडिटेशन



काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतको नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन लेबोरेटोरीज (NABL)बाट ८१४ परीक्षण प्यारामिटरमा प्रत्यायन (एक्रिडिटेशन) प्राप्त गरेको छ। योसँगै विभागको प्रयोगशाला नेपालकै सबैभन्दा ठूलो प्रमाणित खाद्य प्रयोगशालाका रूपमा मान्यता पाएको छ।

आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले ६७२ केमिकल र १४२ माइक्रोबायोलोजिकल परीक्षण प्यारामिटरमा NABL प्रत्यायन प्राप्त भएको जानकारी दिए।

नेपाल–भारत समझदारीअनुसार अब भारतको फुड सेफ्टी एण्ड स्ट्यान्डर्ड्स अथोरिटी अफ इण्डिया (FSSAI) ले प्रमाणित खाद्य परीक्षण तथा निर्यात स्वीकृति प्रमाणपत्रलाई आधिकारिक मान्यता दिनेछ। प्रारम्भिक चरणमा जुस, जाम, जेली, अचार, चाउचाउ, अदुवा, फलफूल तथा तरकारी लगायत ८ प्रकारका खाद्य वस्तुहरूमा प्रयोगशाला प्रमाणपत्र मान्य हुने भएको छ।

महर्जनले यो उपलब्धिले नेपाललाई खाद्य परीक्षणको अन्तर्राष्ट्रिय स्तरमा विश्वसनीय बनाउने दिशामा ठूलो टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २०८२ साउन २० गते सोमवार