स्थापना भएको आठ वर्षमै बागमती प्रदेश ‘मन्त्री उत्पादनको कारखाना’ बनेको छ । २०७४ देखि २०८२ साउनसम्म प्रदेशमा ५ जना मुख्यमन्त्री र ९० जना मन्त्री बनेका छन् । दुई कार्यकालमा १५ जना सांसद पटक–पटक दोहोरिएर मन्त्री भएका छन् ।
पहिलो कार्यकाल (२०७४–२०७९) मा ३ मुख्यमन्त्री र ३७ मन्त्री बनेका थिए भने दोस्रो कार्यकालमा हालसम्म २ मुख्यमन्त्री र ३३ जना मन्त्री भइसकेका छन् । यही साउन महिनामा फेरि १ मुख्यमन्त्री र १३ मन्त्री थपिने तयारी छ ।
राजनीतिक अस्थिरताको कारण बर्सेनि सरकार परिवर्तन हुँदै आएको छ । डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामाले प्रदेशको नेतृत्व गरेका छन् । अब इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने तयारीमा छन् ।
पूर्वमुख्यमन्त्री शाक्य र पूर्वसभामुख सानुकुमार श्रेष्ठले सत्ता र भागबण्डाको राजनीति स्थायित्व र सुशासनको बाधक भएको बताएका छन् । अधिवक्ता सन्तोष पौडेलले ८ वर्षमै ९० मन्त्री पुग्नु लोकतन्त्रमाथिको अपमान भएको टिप्पणी गरेका छन् ।
प्रदेश प्रमुख पनि चार पटक फेरिएका छन् । बागमती प्रदेशको स्थायित्व र जनउत्तरदायित्वमाथि यत्रो वर्षको अभ्यासले प्रश्न उठाएको स्पष्ट देखिन्छ ।





