आज जेठ १९: दरबारभित्रै राजपरिवार सखाप पारिएको दिन



काठमाडौं। आज जेठ १९ गते। नेपालको इतिहासमा भयंकर घटना भएको दिन। २०५८ जेठ १९ गते शुक्रबार मध्यराति नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्रको बंश विनाश हुने गरी गोलीकाण्ड भएको थियो। दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित तथा विस्मयकारी घटना बनेको छ।

दरबार हत्याकाण्ड अढाइ दशकभन्दा बढी हुँदासम्म पनि रहस्यमयको गर्भमै छ। घटना के कसरी भयो भन्ने विश्वासयुक्त आधार अहिलेसम्म पाइएको छैन। युवराज दीपेन्द्र शाहले बाबुआमा र भाइबहिनीको हत्या गरेर आफूले आत्महत्या गरेको बताइँदै आएकोे छ।

सरकारले गठन गरेको छानबिन समितिले पनि यही कुरामा जोड दिएको थियो। तर आमरुपमा त्यो घटनालाई त्यसरी हेरिएको वा विश्वास गरिएको पाइँदैन। त्यो घटनालाई षडयन्त्र हो भन्नेहरुकै संख्या बढी छ।

त्यसबेला सर्वाेच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी ठहर्याएको थियो।

साप्ताहिक रुपमा शुक्रबार राति दरबारभित्रको त्रिभुवन सदनमा पारिवारिक जमघट र भोज हुने चलन थियो। उक्त दिन त्यही भोजमा सहभागी हुन भेला भएका बेला तत्कालीन युवराज दीपेन्द्रले सैन्य पोशाक लगाएर दुईवटा बन्दुक चलाई राजपरिवारको हत्या गरेको बताइँदै आएको छ।

उक्त घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो। यस्तै, कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए।

प्रकाशित मिति : २०८२ जेष्ठ २० गते सोमवार