ललितपुर । गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले कला, संस्कृति र सभ्यतालाई उजागर गर्न चित्रकला महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने बताउनुभएको छ ।
गोदावरी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा यही पुष २१ गतेदेखि २५ गतेसम्म माध्यमिक विद्यालयस्तरीय धुम्रपान मद्यपान लगायत लागूऔषध प्रयोग निवारण सम्बन्धी ५ दिने चित्रकला तालिममा बनाइएका चित्रहरुको प्रदर्शनीकाे आइतबार मंगलबजारमा आयाेजित उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै नगरबाल अधिकार समितिका प्रमुख समेत रहनुभएकी अधिकारीले चित्रकलाले व्यक्तिमा लुकेर रहेकाे प्रतिभा, भाव, क्षमता प्रस्फुटन हुने बताउनुभएको हाे ।
“चित्रकला तालिमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित हुने याेग्ग दक्ष नागरिक तयार हुनसक्छन्, याे देशकाे समृद्धिका लागि उपयाेगी हुनसक्छ, चित्रका माध्यमबाट भावना प्रस्फुटन गर्ने कला सम्बन्धि प्रशिक्षित गर्दै अन्तर्राष्ट्रिय स्तरमा पहिचान कायम गर्ने कलाकार निर्माण गर्न तालिम तथा प्रदर्शनीहरु महत्त्वपूर्ण हुनसक्छन्।” उहाँले भन्नुभयो ।
उहाँले धुम्रपान तथा मध्यपान निशेध गर्न सचेतना अभियानका लागि चित्रकलामार्फत गरिने सचेतनाले सहज हुने भन्दै याे माध्यमबाट घरपरिवार, स्वास्थ्य र समाजमा पार्ने असरका बारेमा जानकारी दिन प्रभावकारी हुने धारणा राख्नुभयो।
“चित्रले धेरै कुरा सरल रुपमा बुझाउन सफल हुन्छ, पढाईमा रुचि नभएका विद्यार्थीहरु पनि चित्रकला र कलाकारितामा अव्वल हुन सक्छन्, कला, संस्कृतिले भरिपूर्ण गाेदावरीलाई चित्रकलाका माध्यमबाट पनि अगाडि बढाउन सकिन्छ, स्थानीय पाठ्यक्रममा कला, संस्कृति र सभ्यतालाई समेटिने याेजना छ, यसमा विद्यार्थीले काेरेका उत्कृष्ट चित्रहरु पनि समेटिन सक्छन्।” उहाँले भन्नुभयो ।
पाटन दरवार संग्राहलयका अधिकृत सुरेश लाखेले पाटन संग्रहालयकाे उद्देश्य अनुसार नेपाली कला संस्कृतिलाई विश्व माझ पुर्याउनु भएको बताउँदै यहाँ कला, संस्कृति र सभ्यता झल्किने विभिन्न प्रदर्शनी आयोजना गरिँदै आएको जानकारी गराउनुभयाे ।
“स्थानीय सरकारले कला, संस्कृतिकाे उजागर गर्न विद्यार्थीहरुकाे प्रतिभा प्रस्फुटनमा जाेड दिनुपर्छ, पालिकास्तरमा नै कला प्रदर्शनीका लागि संग्रहालयकाे विकास गर्न सक्नुपर्नेछ।” उहाँले भन्नुभयो ।
पत्रकार बालमुकुन्द आचार्यले बालबालिकाबाटै समाजलाई व्यवस्थित बनाउन सकिन्छ भन्दै बालबालिकाबाट सृजना हुने सीपलाई जीवनसंग जोडेर लैजान सके बालबालिकालाई भविष्य निर्माणकाे यात्रामा महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले सोच परिवर्तन र सिकाईकाे आधार कलाकारिताको माध्यमबाट समेत तयार हुने भन्दै यस्ता अतिरिक्त क्रियाकलापले बालबालिकामा सकरात्मक छाप छोड्न सकिने धारणा राख्नुभयाे ।
प्रमुख प्रशिक्षक चित्रकार अजय देसार
प्रदर्शनीले चित्रकारहरुका लागि नयाँ ढोका खुल्ने बताउनुभयाे । उहाँले संग्रहालयमा हुने यस्ता प्रदर्शनीले बालबालिकाले तयार पारेका चित्रहरु विदेशी पर्यटकहरु समक्ष प्रस्तुत हुने बताउँदै उनीहरुको हौसला अभिबृद्धिमा सार्थकसिद्ध हुने विस्वास व्यक्त गर्नुभयाे। प्रशिक्षक देसारले सबै बालबालिकाहरुलाई सीप विकासका लागि उपयोगी काम गर्नका लागि तालिमका साथसाथै प्रदर्शनी आयोजना गरिएको बताउँदै गराउँदै पाँच दिने तालिमले बालबालिकामा महत्त्वपूर्ण सीप विकास गरेको जानकारी गराउनुभयाे।
कार्यक्रममा गोदावरी नगरपालिकाको महिला बालवालिका शाखा प्रमुख सीता गुरुङले ५१ वटा सूचक पूरा गरेर २०८२ चैतसम्म बालमैत्री स्थानीय तह घाेषणा गर्ने तयारी रहेको जानकारी गराउनुभयो।
“नेपाल सरकारले निर्णय गरेर २०८७ सम्म सबै स्थानीय तहलाई बालमैत्री घोषणा गर्ने तयारी गरेको छ, साेही अनुसार समाजका प्रवुद्ध व्यक्तित्व, सामाजिक संघसंस्थासंग समन्वय गरेर कार्यक्रम गरिरहेका छौं।” उहाँले भन्नुभयो ।
अधिकृत गुरुङले धुम्रपान, मधपान निशेधका लागि बालबालिकामा चेतना जगाउने अभिप्रायले पाँच दिने तालिम आयोजना गरेको बताउनुभयाे। उहाँले अतिरिक्त क्रियाकलापबाट पनि जिविकोपार्जन गर्दै देशलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न सकिन्छ भन्ने सन्देश दिंँदै दक्ष चित्रकार स्थापित गर्न सकिन्छ भन्ने धारणा राख्नुभयो। उहाँले चित्रकला मार्फत समाजमा भएका घटना र मानिसकाे मानसिक सोचको समेत उजागर गर्न सहज हुने बताउनुभयो ।
पाँच दिने चित्रकला तालिममा गोदावरी नगरपालिकाभित्रका १२ वटा समुदायिक विद्यालयका २१ जना बालबालिकाहरुले धुम्रपान मद्यपान लगायत लागू ओैषध प्रयाेग निवारण सम्बन्धी चेतना जगाउने खालका चित्रहरु कोरेका थिए। प्रशिक्षक चित्रकार अजय देशार , सितु मास्के र आकाश गाेलेबाट प्रशिक्षण लिएका विद्यार्थीहरुले तयार पारेका ४० वटा चित्रहरु प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनी साेमबारसम्म सञ्चालन हुने जानकारी गराइएको छ।





