सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेले ठगी धन्दा संलग्न रहेको सार्वजनिक भएको छ । यसअघि सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालाको नाममा उमा गौरी कृषि सहकारीको ठगी धन्दामा पक्राउ गर्न जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको थियो । यद्यपि अञ्जलालाई प्रहरीले अझै पक्राउ गरेको छैन । उक्त घटना सेलाउन नपाउँदै पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेललाई ठगी मुद्दामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेश दिएको पाइएको छ । पोखरेल नेकपा एमाले मोरङ जिल्ला समितिका सदस्य पनि हुन् ।

मोरङ रंगेली नगरपालिका २ मंगलबारेका ४३ वर्षीय पोखरेलले ३८ लाख ३० हजार रुपैयाँ ठगी गरेको पाइएको हो । पोखरेलविरुद्ध २०७९ साउन ३१ गते उच्च अदालतमा ठगी मुद्दा दर्ता भएको थियो । सप्तरी अग्नीसाईर कृष्णसवरन गाउँपालिका ५ बकधुवाका बौआलाल चौधरीले पोखरेलले आफ्नी छोरी दिक्षा चौधरीलाई उच्च शिक्षा एमबिबिएस डाक्टर पढाउनका लागि नाम निकाल्दिने भन्दै ३८ लाख ८० हजार लिएको भन्दै निवेदन दिएका थिए । प्रहरीले जाहेरी लिन नमानेपछि उनले उच्च अदालत विराटनगरमा परमादेश माथ गर्दै निवेदन दिएका थिए ।
उक्त निवेदनमाथि उच्च अदालत विराटनगरका न्यायाधीशहरू राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलाशले २०८१ भदौ ३१ गते आदेश दिँदै पोखरेलमाथि अनुसन्धान गर्न आदेश दिएको हो । उच्च अदालतले उक्त आदेश गत पुस ११ गते प्रमाणीकरण गरेको छ ।
ठगीमा जोडिएका पोखरेललाई सांसद ऋषिकेशले डेढ वर्ष अगाडी स्वकीय सचिवमा नियुक्ति गरेका थिए । पोखरेलले अनिललाई स्वकीय सचिवमा नियुक्ति गर्नु अगाडि चौधरीसँग विभिन्न मितिमा सात पटक गरी उक्त रकम लिएको तथ्य र प्रमाण भेटिएको छ । चौधरीले सुरुमा रामदेव सिंह मार्फत २० भदौ २०७१ मा १ लाख रुपैयाँ पोखरेलको नबिल बैंकको ३५१००१७५०३९८१ खातामा जम्मा गरिदिएका छन् । त्यसैगरी केदार प्रसाद घिमिरे मार्फत २३ कार्तिक २०७१ मा ५० हजार, १३ फागुन २०७१ मा फेरी ५० हजार, बौआलाल चौधरी मार्फत २२ मंसिर २०७३ मा १० लाख, २२ मंसिर ०७३ मा ८ लाख र सोही मितिमा १७ लाख गरी पोखरेलको खातामा पटक–पटक गरी ३८ लाख ३० हजार रुपैयाँ जम्मा भएको देखिन्छ ।





