पोखरा । बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका सह–कोषाध्यक्ष दीपक बोहराले सामाजिक सञ्जालमा एउटा तस्बिर पोस्ट गर्दै सरकार र नेपाल प्रहरीमाथि प्रश्न तेर्साए । उक्त तस्बिर हाल कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेको रहेको बोहराको दाबी थियो ।


सीसीटिभीको उक्त तस्बिर प्रहरीले नै कसैलाई पठाएको दाबी गर्दै उक्त तस्बिर कुन उद्देश्यका लागि सार्वजनिक गरियो भन्दै प्रश्न गरे । उनले लेखेका थिए, ‘अन्याय गर्नुको पनि हद हुन्छ। रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला ।’
फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमामा विभिन्न कोणमा बहस सुरु भयो । केहीले तस्बिरको वास्तविकतामाथि नै प्रश्न पनि उठाए । बिहीबार बिहान फेसबुक लाइभमा आएका बोहराले उक्त तस्बिर रविकै भएको बताए । यस पटक भने उनले तस्बिर आफूले सामाजिक सञ्जालमा भेटेको र यो कसरी बाहिरियो भन्दै आफ्नो प्रश्न पुनः दोहोर्याए ।
तर, अहिले सो तस्बिर रास्वपा समर्थक डा. निकोलस भुसालले नै सार्वजनिक गरेको खुलासा भएको छ । भुसालले रवि लामिछानेको समर्थनमा प्रदर्शनसमेत गर्दै आएका छन् । कास्की प्रहरी स्रोतका अनुसार केही दिन अघि निकोलस भुसाल रवि लामिछानेलाई भेट्न प्रहरी हिरासतमा पुगेका थिए । तर, प्रहरीले रवि सुतिरहेको र अहिले भेट्न नमिल्ने बताएको थियो ।
भुसालले भेट्ने अड्डी कसेपछि उनलाई सीसीटिभीबाट रवि सुतेको देखाइएको थियो । यद्यपि, सीसीटिभी भएको ठाउँसम्म उनले मोबाइल कसरी लान पाए भन्ने चाहिँ प्रहरीले बताउन सकेको छैन ।
यता, कास्की प्रहरीले सो तस्बिर पोस्ट गर्ने व्यक्ति खोजीमा जुटेको बताएको छ । कास्की प्रहरीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले आफूहरू घटनाबारे जानकार रहेको र अनुसन्धान भइरहेको बताउँछन् । ‘सामाजिक सञ्जालमा आएका तस्बिर हेरेका छौँ । जानकारी छ,’ उनले भने, ‘कसले गर्यो भन्ने खोजी भइरहेको छ ।’





