दक्षिण कोरियाको संसदले राष्ट्रपति युन सुक येओललाई महाअभियोग लगाउने प्रस्ताव पारित गरेको छ । अल्पकालीन मार्शल ल घोषणा गरेको विरोधका उनीमाथि महाभियोग लगाउने प्रस्ताव संसदमा पेश गरिएको थियो । यसअघि उक्त प्रस्तावको पक्षमा आवश्यक मत नपरेपछि पुन: महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो ।
राष्ट्रिय सभामा शनिबार भएको मतदानमा प्रस्तावको पक्षमा २०४ मत र विपक्षमा ८४ मत प्राप्त भएसँगै महाअभियोग प्रस्ताव प्रस्ताव पारित भयो । अब महाभियोगसम्बन्धी कागजातको प्रतिलिपिहरू संवैधानिक अदालतमा पठाएपछि युन राष्ट्रपतिबाट निलम्बित हुनेछन्।
युनलाई राष्ट्रपति पदबाट बर्खास्त गर्ने वा उनको शक्ति पुनर्स्थापित गर्ने भन्ने निर्णय भने अदालतले १८० दिनभित्र गरिसक्नुपर्ने छ। यदि उनी पदबाट हटाइएमा उनको उत्तराधिकारी छनौट गर्न ६० दिन भित्र राष्ट्रिय चुनाव गर्नुपर्ने छ।
महाअभियोग प्रस्ताव दुई तिहाई मतबाट पारित गर्नुपर्छ। ३०० सदस्यीय कोरियाको संसदमा राष्ट्रपति यूनको सत्तारूढ दल पिपल्स पावर पार्टी (पिपिपी) का १०८ सांसद छन् भने विपक्षीका १९० सांसद छन्। दुई तिहाईले महाअभियोग प्रस्ताव पारित हुन पिपिपीकै सांसदहरूले प्रस्तावमा मत हालेपछि पारित भएको हो।
गत साता यूनविरूद्ध महाअभियोग प्रस्तावमा मतदान भएको थियो। त्यो बेला पिपिपीका सांसदहरू मतदानमा अनुपस्थित भएपछि राष्ट्रपति यून जोगिएका थिए।





