बागमती प्रदेश सरकारले बाढी तथा पहिरोलगायत विपद् पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ।
प्रदेश सरकारको आज साँझ बसेको आकस्मिक बैठकले बाढी पहिरोबाट भएको क्षतिको यकिन गरी प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि २०८० बमोजिम प्रदेश सरकारका तर्फबाट पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो।
उक्त कार्यविधिमा प्रदेशभर विपदका घटनामा परी कुनै व्यक्तिको मृत्यु भए राहत स्वरूप मृतकको परिवारलाई एक लाख दिने व्यवस्था छ।
यस्तै, विपदमा परी कोही मानिस बेपत्ता भइ खोजि गर्दा ९० दिनसम्म फेला नपरे सम्बन्धित स्थानीय तहको सिफारिस र प्रहरी प्रतिवेदनको आधारमा मृतकको परिवारलाई एक लाख रुपैयाँ रकम उपलब्ध गराउने उल्लेख छ।
प्रभावित नागरिकहरूलाई थप सहयोगका लागि नेपाल सरकारसमक्ष आग्रह गर्ने निर्णय भएको मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले जानकारी दिए।





