गण्डकी सरकारका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले मन्त्री पदबाट राजीनामा दिएका छन्। सोमबार एमालेका ४ जना मन्त्री थपेर सरकार पुनर्गठन गरेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्वकीय सचिवमार्फत् उनले राजीनामा पठाएका हुन्।
‘मैले राजीनामा स्वकीय सचिव सन्तोष अधिकारीसँग पठाइसके, अब सरकारमा नजाने, अल्छी लाग्यो,’ उनले भने, कति खाने के, रेष्ट गर्नुपर्छ अब।’
सरकार पुनर्गठन हुनुअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहेका मनाङे पुनर्गठन पश्चात वन तथा वातावरण मन्त्रालय पाएका थिए।
वन तथा वातावरण मन्त्रालय पाएपछि असन्तुष्ट बनेर मनाङेले राजीनामा दिएका हुन्। मनाङेका स्वकीय सचिव अधिकारीले पनि मन्त्री पदबाट मनाङेले राजीनामा दिएको बताए।
‘राजीनामा पत्र बुझाउन मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्रीको समय कुरेर बसेको छु,’ उनले भने।
प्रकाशित मिति : २०८१ भाद्र १७ गते सोमवार





