सरकारविरुद्ध आवाज उठाउँदा प्रहरीको धरपकड, ४ जना पक्राउ



काठमाडौं । सरकारको विरुद्धमा क्रियाकलाप गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । कैलालीको धनगढीबाट दुई जना र काठमाडौँबाट दुई जना पक्राउ परेका हुन् ।

धनगढीस्थित ‘हङ्ग्री क्याफे’ का सञ्चालक प्रतीक जोशी र रचित शाहले परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध फेसबुकमा स्ट्याटस लेखे । उनीहरुले ‘भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई मन्त्री बनाइएको’ भन्दै आलोचना गरेका हुन् । स्ट्याटस लेखेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । तर, प्रहरीले उनीहरूलाई ‘गाँजाको बारेमा सोधपुछ’ गर्न नियन्त्रणमा लिएर छाडिएको दाबी गरेको छ ।

काठमाडौँको टुँडिखेलमा भदौ १० मा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भयो । नाराबाजीमा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत घर भएका गोपीराम जैसी र राम बहादुर बुढा छन् ।

टुँडिखेलमा आयोजित गौरा पर्वमा सम्बोधन गर्ने क्रममा उनीहरुले प्रधानमन्त्री र देउवाविरुद्ध नाराबाजी गरेका थिए । घटनाबारे अनुसन्धान गर्न उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

प्रकाशित मिति : २०८१ भाद्र १२ गते बुधवार