आज यी प्रदेशमा भारी वर्षाको सम्भावना



हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा पनि भइरहेको छ।

बुधबार दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली नै रहने प्रक्षेपण छ।

महाशाखाले दिउँसो कोशी, बागमती, गण्डकी , कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

बिहीबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी ,बागमती प्रदेश,गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

प्रकाशित मिति : २०८१ साउन १० गते बिहिवार