इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक



तेहरान । इरानको सरकारी एजेन्सी इरनाले हेलिकप्टर दुर्घटना अघिको तस्बिर सार्वजनिक गरेको छ । इरानी राष्ट्रपति इब्राहिम राईसीसहित अन्य व्यक्तिहरू लिएर उड्दै गर्दा खिचिएको हेलिकप्टरको यो अन्तिम तस्बिर हो ।

एजेन्सीका अनुसार यो तस्बिर आइतबार अजरबैजानमा बाँधको उद्घाटन गरेर ताब्रिज सहर जाँदै गर्दा खिचिएको थियो । इरानका गृहमन्त्री अहमद वाहिदीले राष्ट्रपति राईसीको हेलिकप्टर दुर्घटना भएको इरानी सरकारी मिडियालाई जानकारी दिएका छन् ।

वाहिदीका अनुसार धेरै उद्धार टोलीहरूले राष्ट्रपतिको हेलिकप्टरको खोजी गरिरहेका छन् । वाहिदीले भने, ‘मौसम खराब र कुहिरोका कारण घटनास्थल पुग्न समय लाग्छ । अवस्था नियन्त्रणमा छ र उद्धार टोलीले आफ्नो काम गरिरहेका छन् । हामी आशा गर्छौँ कि राहत कार्य छिट्टै सम्पन्न हुनेछ ।‘

यसैबिच इरानको सरकारी सञ्चारमाध्यमले जनतालाई राष्ट्रपति राईसीका लागि प्रार्थना गर्न अपिल गरेको छ । हेलिकप्टरमा राष्ट्रपति राईसीबाहेक इरानी विदेशमन्त्रीलगायत धेरै व्यक्ति सवार थिए । हेलिकप्टरमा सवार यात्रुहरूको अवस्थाबारे जानकारी आउन सकेको छैन ।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार