कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना



हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सफा रहने छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन,चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले वर्षा हुने सम्भावित भू–भागमा मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित मिति : २०७९ चैत्र २० गते सोमवार