छ महिनाअघि जापान पढ्न गएका धनकुटाका अनिश जापानमै अस्ताए



जापानमा रहेका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। छ महिनाअघि जापान पढ्न गएका धनकुटाका अनिश कटवालको मृत्यु भएको हो । घटना अंग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भ भएको दिनको (पुस १७ गतेको) हो । उनी आफ्नै कोठामा मृत फेला परेका थिए ।

कोठामा रहेको ओफुरो (पानी जमाएर नुहाउने भाडा) मा डुबेर उनको मृत्यु भएको उनीसँगै बस्दै आएका साथीहरूले बताएका छन् ।

‘हामी नयाँ वर्ष मनाउन बाहिर गएका थियौं। बिहान कोठामा फर्कंदा ओफुरोमा अनिश नुहाउन लागेजस्तो देखियो तर हलचल नगरेपछि अचेत पायौं । प्रहरी र एम्बुलेन्स बोलायौं,’ अनिशका एक साथीले भने, ‘उनको निधन भइसकेको रहेछ ।’

उनको शव अस्पतालमा राखिएको छ। घटनाबारे अनिशका परिवारका सदस्यहरूलाई जानकारी गराइसकिएको छ । २७ वर्षका अनिश टोकियोस्थित इकेबुकुरोमा बस्दै आएका थिए भने उनले ताकाराजुका भाषा विद्यालयमा पढ्दै आएका थिए ।

उनको मृत्युको कारण खुलिसकेको छैन। पोस्टमर्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने बताइएको छ ।

प्रकाशित मिति : २०७९ पुष १९ गते मङ्गलवार