नाबालिगमाथि बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई् डिप्रेसनको समस्या देखिएको छ । बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले सोमबार केन्द्रीय कारागारमा गएर लामिछानेलाई मनोपरामर्श दिएको लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए ।
‘१५/२० दिनयता उहाँको बोली व्यवहारमा फरकपना महशुस गरेको थिएँ। त्यसैले बरिष्ठ मनोपरामर्शविदलाई लगेर केन्द्रीय कारागार गएँ । परामर्शपछि उहाँले सन्दीपको डिप्रेसन लेभल बढेको बताउनुभयो,’ उनले सेतोपाटीसँग भने,‘हामीले सोचेभन्दा पनि खराब स्थिति रहेछ। अब नियमित काउन्सिलिङ चाहिन्छ भन्ने उहाँको सल्लाह छ ।’
लामिछानेमा नकारात्मक सोचाइ बढेको लगायतका समस्या देखिएको उनले बताए। कारागारमा काउन्सिलिङका लागि छुट्टै कोठाको व्यवस्था नभएको पनि उनले बताए । त्यसले गर्दा प्रभावकारी काउन्सिलिङ दिन गाह्रो हुने उनको भनाइ छ ।
‘हामीले नियमित काउन्सिलिङका लागि जेलरसँग अनुमति मागेका छौं । तर त्यहाँ कैदी बन्दीहरू सामूहिक बसेकै ठाउँमा गएर काउन्सिलिङ गर्नुपर्ने रहेछ। यस्तोमा त प्रभावकारी काउन्सिलिङ दिन नै गाह्रो हुन्छ। यो सन्दीपको लागि मात्र कुरा भएन अरूको पनि काउन्सिलिङ गर्नुपर्छ। काउन्सिलिङ गर्दा छुट्टै कोठा वा ठाउँको व्यवस्था हुन जरूरी देखिन्छ,’ उनले भने ।
सन्दीपमाथि १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ। उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएपछि उनी सुन्धारास्थित केन्द्रीय कारागारमा छन् । गत मंगलबार काठमाडौं जिल्ला अदालतले पीडित किशोरीको उमेरसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको थियो ।
लामिछानेले १८ वर्षमुनिकी किशोरीमाथि बलात्कार गरेको आरोप भए पनि सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन् । उमेरसम्बन्धी विवाद भएपछि जिल्ला अदालतको इजलासले उनको जन्मसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको थियो ।
यस्तै इजलासले अर्का क्रिकेटर देव खनाल र मेडिकल गराएका चिकित्सकलाई समेत झिकाउन आदेश दिइएको छ । उनीहरूलाई यसअघि नै बोलाउँदा पनि नआएको भन्दै अदालतले त्यही आदेशलाई निरन्तरता दिइएको छ।
उनीहरूको पुस २५ गतेसम्ममा बकपत्र गराइसक्न पनि भनिएको छ । सन्दीपले १७ वर्षीय नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्याएर दुई पटक बलात्कार गरेको आरोप छ। भदौ ६ गते उनी टी-२० खेल खेल्न केन्या गएका थिए। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
त्यतिबेला आरोपित लामिछाने केन्यामा थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए । उनीविरूद्ध पक्राउ पुर्जी जारी भइसक्दा पनि नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् डिफ्युजन नोटिस पनि जारी गरेको थियो ।
सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ ।
उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।





