बिहानसम्म रहेको पाँच दलीय गठबन्धन बेलुकासम्म आइपुग्दा टुटेर नेकपा एमाले र माओवादीसहितको वाम गठबन्धन बनेको छ ।
करिब एक वर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ‘वान टु वान’ वार्ता भएको थियो । त्यो भेटवार्ता अमेरिकी सहायता परियोजना एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा संसदमा विवाद रहेका बेला जुरेको थियो । त्यसबेला माओवादी कांग्रेससहितको सरकारमा थियो ।
प्रचण्डले एमसीसीमा जे गर्ने हो, राष्ट्रिय सहमतिबाट अगाडि बढौँ भन्दै आफू एमालेका र विशेषगरी केपी ओलीका सबै कुरा सुन्न सक्ने सामर्थ्य लिएर आएको पनि बताएका थिए ।त्यो दिन प्रचण्डले विगतमा दुवै पक्षबाट कमीकमजोरी भएको भन्दै ती गल्ती र कमजोरी सच्याउँदै, आत्मसमीक्षा गरेर अघि बढ्न तयार रहेको बताएका थिए । तर, ओली प्रचण्डको प्रस्तावमा सहमत भएनन् ।
गत वर्ष फागुन १२ मा भएको उक्त भेटपछि यी नेताहरू फेरि पुरानै लयमा फर्किए । यो भेटभन्दा पहिला उनीहरू अन्तिमपटक २०७७ साल पुस ४ गते ललितपुरको खुमलटारमा भेटेका थिए । त्यो दिन प्रचण्डसँग भेट गर्न ओली खुमलटार पुगेका थिए ।
ओलीले आफूविरुद्ध प्रचण्डको अगुवाइमा लगाइएको १९ पेज लामो उनकै भाषामा ‘आपराधिक आरोपपत्र’ फिर्ता लिनुपर्ने माग राखेका थिए । तर, ओलीको उक्त कुरा प्रचण्डले स्वीकारेनन् ।
आ–आफ्नै अडानमा रहेका ओली प्रचण्डलाई चुनावको मतपरिणामपछि फोन वार्तासम्म पुर्यायो । प्रचण्डले जितेपछि ओलीले फोन गरेर बधाई दिँदै मिलेर जान प्रस्ताव गरेका थिए । प्रचण्डले सोचौँला भनेर जवाफ फर्काएका थिए ।
तिक्ताका बीचबाट विभाजन भएको नेकपा अन्तत: दुई अध्यक्षको फोन संवादले अलिकति भए पनि नजिक पुग्ने वातावरण बन्यो ।
यो फोन संवादको सूत्रधार एमाले उपाध्यक्ष सुवास नेम्वाङ रहेको बताइन्छ । नेम्वाङको पहलमा ओलीले प्रचण्डलाई फोन गरेका थिए । त्यसपछि पनि नेम्वाङले माओवादी नेताहरूसँग छलफल भने जारी राखे । जसका कारण आजको यो अवस्था आएको एमालेका नेताहरू बताउँछन् ।
रुकुमबाट जनार्दन शर्माले चुनाव जिते । दाङबाट चुनाव हारेका एमालेका महासचिव शंकर पोखरेलले शर्मालाई बधाई दिँदै फोन गरे । फोनमा बधाई आदानप्रदान भयो । पोखरेलले शर्मालाई सोधे– पार्टी के गर्ने हो ? शर्माले मुसुक्क हाँसेर जवाफ फर्काए– मतपरिणाको नतिजा आएपछि बसेर मिलाउनुपर्छ । पार्टी मिलाउने हो ।
लमुजुङमा माओवादीका महासचिव देव गुरुङ र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभाका उम्मेदवार थिए । पृथ्वीसुब्बाले प्रतिनिधिसभामा उम्मेदवार हुन नचाहेको समाचार बाहिरियो । तर, अन्तिमा उनी उम्मेदवार मात्र भएनन्, चुनाव नै जिते । चुनाव जितेका एमाले उपमहासचिवलाई बधाई दिन खादा लिएर पुगे माओवादी महासचिव देव गुरुङ । देव गुरुङले बधाई दिँदै पृथ्वीसुब्बालाई पार्टी मिलाउने काम निरन्तर अगाडि बढाउन पनि सल्लाह दिए ।
माओवादी र एमालेका थुप्रै नेताहरूले चुनावमा एकअर्कासित पराजित भए पनि छलफल र भेटघाटलाई निरन्तर जारी राखे । माओवादी स्थायी कमिटी सदस्य रेखा शर्मासँग हारेका एमाले महासचिव पोखरेल, पृथ्वीसुब्बासँग हारेका देव गुरुङ, जितेका वर्षमान पुन, जनार्दन शर्मा, सुवास नेम्वाङ र विष्णु पौडेल दैनिकजसो फोन संवाद र निरन्तर भेटघाटमा व्यस्त थिए ।
चुनाव सकियो । मतपरिणामा आयो । पाँचदलीय गठबन्धनको पनि बहुमत आएन । एमाले पनि दोस्रो ठूलो दल बन्यो ।
माओवादीको पहिलो प्राथमिकता पाँचदलीय गठबन्धन नै थियो । मतपरिणाम आएर निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचनको प्रतिवेदन बुझाएपछि सरकार बनाउने बाटो खुलेको थियो ।
तर पाँचदलीय गठबन्धनमा पहिला प्रधानमन्त्री देउवा बन्ने कि प्रचण्ड बन्ने भन्नेमा सुषुप्त रूपमा प्रतिस्पर्धा सुरु भयो । यो लडाइँ एमालेले नजिकबाट हेरिरहेको मात्र थिएन, माओवादीका दोस्रो तहका नेताहरूसँग निरन्तर संवादमा पनि थियो ।
चुनावी नतिजा आएपछि कांग्रेसले प्रधानमन्त्री मात्र होइन, राष्ट्रपतिमा पनि दाबी गर्न थालेको थियो । यो कुरा एमाले र माओवादीका लागि मिलन बिन्दुको सेतु बन्यो । पहिलोपटक नै प्रधानमन्त्री बन्ने तयारीमा रहेका माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री त कहाँ हो कहाँ, राष्ट्रपति पनि नदिने योजना कांग्रेसका देउवानिकट र इतर समूह दुवैले बुन्न थाले । त्यसपछि भने प्रचण्ड कांग्रेसको सम्पर्कमा निरन्तर रहे भने दोस्रो तहका नेताहरूलाई एमालेसँग वार्तामा पठाउन थाले ।
चीनमा उपचाररत पुन नेपाल आएपछि झन् घनीभूत रूपमा एमालेको दोस्रो तहका नेतहरूसँग भेटवार्तामा लागे । एमालेबाट चुनाव जितेका सचिव रघुवीर महासेठ १९ गते मंसिर खुमलटार पुगेर प्रचण्डलाई बधाई दिँदै मिलेर जाने ओलीको प्रस्ताव सुनाए । प्रचण्डले तत्काल केही प्रतिक्रिया नदिए पनि विकल्पको रूपमा तयारी गर्न झन् तीव्रता दिए ।
मंसिर २७ गते राति ९ बजे ट्याक्सी चढेर महासचिव देव गुरुङ केपी ओली भेट्न बालकोट पुगे । गुरुङले बधाई दिन गएको प्रतिक्रिया मिडियालाई दिए पनि दुई पार्टी मिल्ने विषयमा कुरा भएको थियो ।
उपाध्यक्ष पौडेल पनि निरन्तर खुमलटार गएर प्रचण्डसँग छलफलमा थिए । जसरी पनि मिलेर जानुपर्ने अडानमा एमाले र माओवादीका दोस्रो तहका नेताहरू थियो । उनीहरूले आफूहरूबीचमा संवाद मात्रै गरेनन् दुवै पार्टीका अध्यक्षलाई निरन्तर दबाब पनि दिइ नै रहे । र उनीहरूलाई त्यसका लागि तयार पनि गरे ।
माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि निरन्तर एमालेसँग वार्तामा रहे । उनले एमालेसँग वार्ता मात्र गरेनन्, माओवादीमा प्रचण्डलाई पनि वाम गठबन्धनका लागि तयार गराए ।
पुस ९ गते बसेको सत्तागठबन्धनको बैठकमा कांग्रेसले तत्काल माओवादीलाई सभामुखबाहेक केही पनि नदिने बताएपछि माओवादीका उपमहासचिव पुनले देउवालाई गठबन्धन टुट्ने बताएका थिए । गठबन्धन टुट्ने बताएका पुनले सचिव डिलाराम आचार्यलाई लिएर राति ९ बजे बालकोट पुगे ।
ओली पहिलादेखि नै पुन र आचार्यलाई पर्खेर बसेका थिए । अन्तिममा एमाले माओवादी मिलेर जाने र पहिलोपटक प्रचण्ड प्रधानमन्त्री हुने सहमति बन्यो । एमालेले राष्ट्रपति लिने सहमतिपछि १२ बजे पुन र आचार्य फर्केका माओवादीका एक नेताले शिलापत्रलाई बताए ।
शनिबार बालकोटमा सहमति भएपछि आइतबार बिहान माओवादीका केही पदाधिकारीहरू खुमलटारमा बसेर छलफल गरे । उक्त छलफलमा पनि प्रधानमन्त्री बटम लाइन बनाएर जाने कांग्रेसले नमाने प्रतिपक्षमा बस्ने भन्दै समाचार चुहाए ।
खुमलटार बैठक सकेर प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गए । माओवादीका नेताहरू पुन, देवेन्द्र पौडेललगायत पार्टी कार्यालय पेरिसडाँडा पुगे । उनीहरू पुगेपछि एमाले उपाध्यक्ष पौडेललगायत नेताहरू पनि पेरिसडाँडा पुगेर अन्तिम तयारीमा लागे ।
शनिबार राति बनेको सहमतिलाई मूर्त रूप दिँदै प्रचण्डलाई प्रधानमन्त्री बनाउने खाकासहितको सहमतिपत्र बनाएको माओवादी स्रोत बताउँछ ।
प्रधानमन्त्री नपाउने भएपछि आइतबार दिउँसो बालुवाटारबाट गठबन्धन सकिएको भन्दै प्रचण्ड उठेर हिँडे । केही छिन पेरिसडाँडा पसेर प्रचण्ड बालकोट पुगे । जहाँ प्रचण्डलाई प्रधानमन्त्री बनाउने तयारीका साथ ओली बसिरहेका थिए । त्यहीँ थपिए रवि लामिछाने, पछि थपिए सीके राउत, रन्जिता चौधरी, स्वतन्त्र सांसद अमरेशकुमार सिंह ।
अन्तत: आज प्रचण्ड नयाँ गठबन्धनको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन् । भोलि उनको शपथग्रहरण हुने कार्यक्रम छ ।





