प्रचण्ड तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त



प्रचण्ड तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रपति विद्या भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् ।

नेकपा एमालेसहित प्रतिनिधिसभाका १६९ सांसदको समर्थन प्राप्त गरेका प्रचण्डलाई संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले आइतवार विज्ञप्ति प्रकाशित गरी प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरिएको जानकारी गराएको हो । प्रचण्डको यो तेस्रो कार्यकाल हो ।

२०६५ साल साउनमा प्रचण्ड पहिलो कार्यकालका लागि प्रधानमन्त्री बनेका थिए । प्रधानसेनापति रुक्माङ्गद कटवाल प्रकरणमा राष्ट्रपतिले सरकारको निर्णय उल्ट्याइदिएपछि प्रचण्डले राजीनामा गरेका थिए ।

२०७३ साल साउन १७ गते प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बनेका थिए । दोस्रो कार्यकालमा प्रचण्डले स्थानीय तहको निर्वाचन गराएका थिए ।

२०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरीमा जन्मेका प्रचण्ड पछि चितवन बसाइ सरेका थिए ।

प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार