मलेसियाका नेपाली कामदारले अब आजीवन पेन्सन पाउने, आजै फारम भर्नुस्
काठमाडौं। मलेसियाले विदेशी श्रमिकको परिवारलाई पनि सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्न सुरु गरेको छ।
यो व्यवस्थाबाट नेपालीसहित अरु देशबाट रोजगारीका लागि गएकाहरु लाभान्वित हुने भएका छन्।
यसका लागि भिसा प्रक्रियाका क्रममा स्वास्थ्य परीक्षण (बायोमेडिकल) गर्ने बेला कामदारले परिवारको निकटतम सदस्यको विवरण पेस गर्ने नियम लागू भएको छ।
उक्त नियम मंगलबारदेखि कार्यान्वयनमा आएको हो।
मलेसियाले सन् २०२० जनवरी १ मा मृत्यु तथा अंगभंग भएका विदेशी श्रमिक तथा तिनका परिवारलाई समेत आजीवन पेन्सन दिने योजनासहित सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेको थियो।
बायोमेडिकलका लागि मलेसियाले ३६ वटा मेडिकल संस्थालाई तोकेको छ। नेपाली दूतावासका अनुसार बायोमेडिकल गर्ने बेला कामदारले दुई वर्ष म्याद भएको सक्कल राहदानी, वैदेशिक रोजगार विभागले कामदार भर्ना गर्न म्यानपावर कम्पनीलाई अनुमति दिने बेला जारी गरिएको लट नम्बर, भ्याक्सिन कार्ड र सोको कोड र परिवारका नजिकको सदस्य (एकाघर) को नागरिकता पेस गर्नुपर्छ।
मलेसियाको सामाजिक कार्यक्रमअनुसार मृत्यु भएका श्रमिकको परिवारलाई आजीवन रूपमा दैनिक तलबको ६० प्रतिशतसम्म रकम दिने व्यवस्था गरेको छ।
मलेसियामा एक वर्षमा करिब ४ सय नेपालीको मृत्यु हुने गरेको छ।
क्वलालम्पुरस्थित नेपाली दूतावासका अनुसार मृतकको पत्नी वा पति नभए मृतक श्रमिकका सन्तानले २१ वर्षको उमेरसम्म दैनिक तलबको ४० प्रतिशत रकम पाउने व्यवस्था छ।
‘पति वा पत्नी वा छोराछोरी कोही नभए बाबुआमा वा दाजुभाइ वा हजुरबा–हजुरआमाले दैनिक तलब दरको ३० देखि ४० प्रतिशतका दरले हुन आउने रकम पनि प्राप्त गर्न सक्ने व्यवस्था रहेको दूतावासले जनाएको छ।
दुर्घटनामा परी काम गर्नै नसक्ने भए श्रमिकले आफ्नो दैनिक तलबको ९० प्रतिशतका दरले स्थायी अक्षमता भत्ता पाउने छन्।
अस्थायी रूपमा काम गर्न अक्षम भएकाले भने आयआर्जनमा तोकिएका सर्तका अधीनमा रही तलबको ८० प्रतिशतसम्म लाभ प्राप्त गर्न सक्ने दूतावासले जनाएको छ।
अस्थायी अक्षमता लाभ, स्थायी अक्षमता लाभ र आश्रित लाभ भने श्रमिक स्वयम् वा निजको परिवारजनले पाउने सुविधाहरू हुन्।
मृत्यु भएका श्रमिकको रोजगारदातालाई मलेसियामै वा श्रमिकको मुलुकमा दाहसंस्कार गर्दा तोकिएबमोजिमको अन्त्येष्टि खर्च उपलब्ध गराइन्छ।





