अष्ट्रेलियामा सेफ अर्थात कुकले कति कमाउँछन ?



अष्ट्रेलियामा सेफ अर्थात कुकले कति कमाउँछन ?

अष्ट्रेलिया :- अष्ट्रेलियामा सेफको माग निकै राम्रो मानिन्छ । सेफ पेशा अष्ट्रेलिया र न्यूजिल्याण्ड सरकारले सूचीकृत गरेको पेशामा समेत पर्दछ । यसको भीसा कोड ३५१३११ हो । नेपाली लगायत विदेशी सेफहरु यहाँ प्रशस्तै छन् ।

कमाइको हिसावले पनि सेफ पेशा आकर्षक मानिन्छ । त्यसो त सेफका पनि विभिन्न तहहरु हुन्छन् । जस्तो सेफ,हेड सेफ,सेफ द पार्टी,कम्मिस सेफ,सेकेण्ड सेफ आदि ।

अष्ट्रेलियामा बढ्दै गएको रेष्टुराँ र फाष्टफुड संस्कृतिसँगै यहाँ खोलिएका सुविधा सम्पन्न होटलहरुका कारण सेफको माग बढेको हो । त्यसैले अष्ट्रेलिया सरकारले सेफलाई पनि दक्ष पेशाको सूचीमा राखेको छ ।

अष्ट्रेलियामा गत वर्ष गरेको आम्दानी सर्भेक्षण अनुसार सेफको साप्ताहिक औसत आम्दानी ९७४ डलर रहेको थियो । जस अनुसार एउटा सेफले अष्ट्रेलियामा वार्षिक रुपमा औसतमा ५१ हजार ८ सय डलर कमाइ गर्ने गरेको पाइएको थियो । यद्यपि यो राज्य र सेफको स्तर अनुसार फरक फरक थियो ।

अष्ट्रेलियामा सेफको कमाइ कहाँ कति ?

अष्ट्रेलियाको सिड्नीमा डेमी सेफ र सेफ द पार्टी तहको सेफले औसतमा वार्षिक ४५ हजारदेखि ५५ हजार डलरसम्म कमाउँने गर्दछन् । सिड्नीमै सस सेफको कमाइ भने वार्षिक ५१ हजारदेखि ८५ हजार डलरसम्म हुने गरेको सर्भेक्षणमा उल्लेख छ ।

यस्तै न्यू साउथ वेल्समा कमिस सेफ क्याजुअल तहको सेफले प्रति घण्टा कम्तीमा ३२ डलर तलब पाउँछन् भने मेलबर्नमा सेफ द पार्टी लेभलको सेफको वार्षिक आम्दानी ५५ हजारदेखि ६५ हजार डलरसम्म रहेको छ । हेड सेफले भने मेलबर्नमै वर्षमा करिब ७५ हजार डलर कमाइ गर्ने गर्दछन् ।

उता ब्रिसबेनमा डिनर बनाउँने कुक वा सेफले २५ देखि ३५ डलर प्रतिघण्टा तलब पाउँने गरेका छन् । सनसाइन कोष्टमा कम्मिस सेफको वार्षिक कमाइ ५५ हजारदेखि ५५ हजार डलरसम्म हुने गरेको छ ।

पर्थमा सस सेफले कम्तीमा वर्षमा ७० हजार डलर आम्दानी गर्ने गरेका छन् । पर्थमै हेड कुकको वार्षिक तलब ८५ हजार डलरसम्म रहेको छ भने पर्थमा किचन हेल्परले समेत वर्षमा ३० हजारदेखि ३५ हजार डलरसम्म कमाउँने गरेका छन् । माथि उल्लेखित तलब अष्ट्रेलियामा विभिन्न राज्यमा पछिल्लोपटक तलबको स्केल बढेकोले अझ बढी हुनसक्नेछ ।

प्रकाशित मिति : २०७९ पुष ६ गते बुधवार