फिफा विश्वकपको फाईनलमा एमबाप्पेले दुई मिनेटमा दुई गोल गरेपछि खेल रोमाञ्चक मोडमा



फिफा विश्वकपको फाईनलमा एमबाप्पेले दुई मिनेटमा दुई गोल गरेपछि खेल रोमाञ्चक मोडमा

कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधीका लागि अहिले अर्जेन्टिना र फ्रान्सबीच प्रतिष्पर्धा भईरहेको छ। दुबै टिमबीचको खेल एकदमै रोमान्चक मोडमा पुगेको छ । दुबै टिमले दुई दुई गोलको बराबरी गरेका छन् । दोस्रो हाफमा फ्रान्सका लागि दुबै गोल केलियन एम्बापेले गरेका हुन् ।

यसअघि पहिलो हाफमा अर्जेन्टिनाले २ गोल गरेको थियो । लुसिल खेलको २३ औ मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।त्यस्तै अर्जेन्टिनाका लागि ३६ औ मिनेटमा एन्जेल डि मारियाले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । यसैबीच जारी विश्वकपमा ६ गोल गरेका मेसीले विश्वकपमा गोल संख्या १२ पुर्याउँदै पेलेसँग बराबरी गरेका छन् ।

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित खेलिरहेका छन् । दुबै देशले हालसम्म समान दुई दुई पटक विश्वकपको उपाधी उचालिसकेका छन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी हात पारेको थियो । फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल पुगेको हो ।

मेस्सीका लागि कतार विश्वकप अन्तिम विश्वकप समेत रहेको छ । मेस्सीकै लागि भएपनि अर्जेन्टिनालाई विश्वकपको उपाधी जित्नै पर्ने दबाब रहेको छ । यता, ह्युगो लोरिसको कप्तानीमा रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । साविक विजेता समेत रहेको फ्रान्स उपाधी रक्षा गर्ने पक्षमा रहेको छ ।

अर्जेन्टिना र फ्रान्सबीच हालसम्म १२ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जितेको छ । फ्रान्सले ३ खेल जित्दा ३ खेल बराबरीमा सकिएको छ ।

प्रकाशित मिति : २०७९ पुष ३ गते आइतवार