फुटबल मैदान भिजाउन कतारले दैनिक हजारौँ लिटर पानी कहाँबाट ल्याउँछ ?
कतार मरुभूमिको देश हो । यहाँ प्रचण्ड गर्मी हुन्छ। गर्मीले फुटबल खेलिने घाँस नबग्रियोस् भनेर मैदानमा दैनिक दश हजार लिटर पानी कतारले हाल्ने गरेको छ। अन्य रङ्गशालाका मैदानमा पनि दर्जनौँ खेल र प्रशिक्षणका लागि त्यति नै मात्रामा दैनिक पानी छर्किने गरेको छ ।
पानीको अभाव रहेको कतारमा त्यति ठूलो मात्रामा पानी हाल्नुपर्ने अवस्थाले उसले विश्वकप आयोजना गर्न कति चुनौती खेप्नुपरेको छ आँकलन गर्न सकिन्छ । त्यस्ता चुनौतीमा आफ्नै विकासको व्यवस्थापनदेखि त्यसले वातावरणमा पार्ने प्रभाव घटाउने पहलसम्म उसले काम गरेको छ । विश्वकपका लागि तयार पारिएका कतारका आठ वटा रङ्गशालामा खेलमैदान व्यवस्थापनमा खटिएका कर्मचारीका लागि अवस्था थप चुनौतीपूर्ण छ ।
शुरुको योजनानुरूप १३६ वटा प्रशिक्षण गर्ने मैदानका साथै प्रतियोगिता गर्मीयाममा भएको भए प्रत्येक मैदानमा दैनिक ५०, हजार लिटर पानी आवश्यक पथ्र्यो । जाडो याममा विश्वकप आयोजना भएपछि पानीको मात्रा केही कम लागेको हो । त्यहाँका कर्मचारीहरूले अन्य देशको अवस्थासँग तुलना गर्दा कतारमा प्रख्यात प्रतियोगिताका लागि मैदान तयार पार्नुलाई बेग्लै तहको चुनौतीका रूपमा व्याख्या गरेका छन्।
कतारमा आपतकालीन अवस्थामा प्रयोग गर्नका लागि तयार पारिएको चार लाख २५ हजार वर्ग मिटर घाँसमा (४० वटा मैदान बराबर) रिसाइकल गरिएको पानी प्रयोग गरिएको छ। प्रशिक्षण अनि खेलमा प्रयोग भएका मैदानमा भने समुद्रको पानीबाट नुन हटाएर प्रशोधन गरिएको छ ।
प्राकृतिक स्रोतबाट उपलब्ध पानीमा मात्रै निर्भर रहने हो भने कतारमा जम्माजम्मी १४ हजार मानिस मात्रै बस्न सक्थे, कतार विश्वविद्यालयमा मरीन साइन्सेस विषयका सहप्राध्यापक रादूअन बेन हामादूले बताए । कतारमा नदी छैन । त्यहाँ वार्षिक १० सेन्टिमिटरभन्दा कम वर्षा हुन्छ। मरुभूमिस्थित कतारमा करिब २९ लाख मानिसहरुको बसोबास छ । जोकी फिफा विश्वकप हेर्न त्यहाँ करिब १० लाख दर्शक पुगेका छन् ।
पानीको ठूलो परिमाण समुद्रको पानी प्रशोधन गरी त्यसबाट नुन हटाएर पानी तयार गर्ने गरिएको छ । घरायसी प्रयोजनका लागि झन्डै शतप्रतिशत पानीको त्यसरी जोहो गरिएको छ । यूके सेन्टर फर एन्भाइरन्मन्ट, फिसरीज एन्ड एक्वाकल्चर साइन्समा मिडलइस्ट प्रोग्राम निर्देशक डा. विल ले क्वेस्नेले भने, कतारले यसरी ठूलो परिमाणमा पानी उत्पादन गर्छ।
सन् २०५० सम्ममा समुद्रको पानी प्रशोधन गर्ने कतारको क्षमता चार गुनाले बढेर ८० अर्ब लिटर प्रतिदिन पुग्न सक्ने अनुमान गरिएको छ। कतारसँग समुद्रको पानी जति पनि उपलब्ध छ । कतारसँग प्राकृतिक ग्यासको भण्डार रहेकाले यसका लागि खर्च गर्न ऊ आर्थिक रूपमा सक्षम छ। खाडी क्षेत्रमा समुद्रको पानी प्रशोधन गर्न आवश्यक पर्ने ९९.९ प्रतिशत ऊर्जाका लागि सस्तो पर्ने हाइड्रोकार्बन इन्धन प्रयोग गरिने गरिएको डा. ले क्वेस्नेले भने । बीबीसीको सहयोगमा





