कतार विश्वकपः मेस्सीले सेमिफाइनल खेल्न नपाउने सम्भावना, खेलअघि अर्जेन्टिनालाई ठूलो झट्का लाग्न सक्ने !
एजेन्सी । आज राति कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियासँग आमने सामने गर्दैछ । क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले नेदरल्याण्डलाई पाखा लगाएको थियो । तर, सेमिफाइनलमा अर्जेन्टिनालाई ठूलो झट्का लाग्न सक्ने अनुमान गरिएको छ ।
टोलीका कप्तान तथा स्टार फुटबलर लियोनल मेस्सीलाई फिफाले आगामी केही खेलका लागि प्रतिबन्ध लगाउन सक्ने बताइएको छ ।
यस्तो अवस्थामा अर्जेन्टिनाको विश्वकप जित्ने सपना चक्नाचुर हुनसक्ने अनुमान गरिएको छ ।
अर्जेन्टिनाका कप्तानले म्याच रेफ्री एन्टोनियो माटेउ लाहोजसँग झगडा गरेपछि फिफाले मेस्सीविरुद्ध अनुशासनात्मक कारबाही अघि बढाएको हो । यसबारे आज निर्णय हुने अपेक्षा गरिएको छ ।
क्वाटरफाइनल खेलमा दुवै टोलीका लागि गर या मरको खेल थियो । सेमिफाइनलमा पुग्न दुवै टोलीका खेलाडीले आफ्नोतर्फबाट दिलोज्यानले खेलेका थिए ।
खेलका क्रममा खेलाडीहरु आपसमा झडप भएको देखेपछि म्याच रेफ्री एन्टोनियो माटु लाहोजले खेलाडीहरुलाई पटक–पटक रोकेका थिए ।पूरा खेलमा पनि उनले जम्मा १७ पहेँलो कार्ड देखाए । रेफ्रीले पटक–पटक रोक्दा पनि दुवै टोलीका खेलाडीहरु आपसमा भिडेका थिए ।





