आमाले गाजर खाँदा गर्भमा रहेका बच्चा ‘मुस्कुराउँछन्’, ‘केल’ खाँदा ‘ठुस्किन्छन्’
के तपाईँले केल नामक साग चाख्नुभएको छ? छ भने त्यो साग खाँदा अनुहार बिगार्ने तपाईँ एक्लो व्यक्ति हुनुहुन्न!हालै मात्र वैज्ञानिकहरूले गर्भमा रहेको भ्रूण आमाले गाजर खाँदा प्रसन्न हुने र केलको साग खाँदा ठुस्स पर्ने कुरा पत्ता लगाएका छन्।यूकेको डरम यूनिभर्सिटीस्थित द नियोनेटल रिसर्च ल्याबले भ्रूणले विभिन्न स्वादमा प्रतिक्रिया व्यक्त गरेको प्रत्यक्ष प्रमाण पहिलो पटक अभिलेखीकरण गरिएको जनाएको छ।
अनुसन्धानकर्ताहरूले इङ्ग्ल्यान्डमा १०० जना गर्भवती महिला र तिनको गर्भमा रहेका बच्चामा अध्ययन गरेका थिए।उनीहरूले ३५ जना गर्भवतीलाई गाजरको धुलोको चक्की र अरू ३४ जनालाई केलको धुलोको चक्की दिएका थिए।
बाँकी ३० महिलालाई भने केही पनि नदिई अनुसन्धान गरिएको थियो।
फोरडी प्रविधिबाट प्रत्यक्ष प्रतिक्रिया अवलोकन
अनुसन्धानमा संलग्न टोलीले ‘साइकोलजिकल साइन्स’ जर्नलमा प्रकाशित विवरणअनुसार गर्भवती महिलाले ती चक्की खाएको २० मिनेटपछि पेटमा हुर्किँदै गरेका बच्चाहरूले प्रतिक्रिया व्यक्त गरेका थिए। फोरडी अल्ट्रासाउन्ड स्क्यानिङमा केलको चक्की खाएका आमाको पेटमा रहेका बच्चाले मुख बिगारेका थिए भने गाजरको चक्की खाएका आमाका बच्चाहरू मुस्कुराएका थिए।
आमाले केल साग खाएपछि गर्भमा रहेका बच्चाहरूले दायाँतर्फको तस्बिरमा देखिए जसरी मुख बिगारेका थिए, अध्ययनमा सहभागी बाँकी ३० महिलालाई यस्तो कुनै खानेकुरा दिइएको थिएन र उनीहरूको पेटमा रहेको भ्रूणको प्रतिक्रिया पनि केही पाइएन।
यसअघि गरिएका विभिन्न अध्ययनहरूले पनि हामीलाई कुन खानेकुरा मन पर्छ भन्ने कुरा जन्मअघि नै सुरु हुन सक्ने देखाएका छन्। आमाले सेवन गर्ने खानाका कारण गर्भमा भ्रूणवरिपरि हुने तरल पदार्थमा विभिन्न स्वाद हुने भएकाले त्यसो हुन सक्छ।
डरम यूनिभर्सिटीका अनुसार यो अध्ययनबाट गर्भमा रहेका बच्चाहरूले विभिन्न स्वादमा प्रत्यक्ष प्रतिक्रिया व्यक्त गरेको कुरा पहिलो पटक पत्ता लागेको हो।
भ्रूणले कहिलेबाट खानेकुराको स्वाद थाहा पाउँछ?
“आमाले खाने खानाबाट भ्रूणले कस्तो पोषण पाउँछ र बच्चाको स्वास्थ्य विकासका लागि यो निकै आवश्यक छ भन्ने कुरा हामीले यसअघिका अनुसन्धानहरूबाट थाहा पाएका थियौँ। तर त्यो कति समयपछि सुरु हुन्छ भन्ने हामीलाई थाहा थिएन,” अनुसन्धानमा सहभागी डरम यूनिभर्सिटीको द नियोनेटल रिसर्च ल्याबकी प्रमुख नादिया राइस्लान्डले भनिन्।





