कोरिया वैदेशिक रोजगारीमा जाने नेपाली युवाको आकर्षक श्रम गन्तव्यहरूमध्येको एउटा मुलुक हो दक्षिण कोरिया । कोरिया जान दुवै मुलुकका सरकारले तय गरेका छनोट प्रक्रिया पार गर्नुपर्छ । अन्य मुलुकमा जान जस्तो वैदेशिक रोजगार व्यवसायीको चंगुलमा फस्नुपर्ने बाध्यता नभएकाले पनि यो गन्तव्य आकर्षक बनेको छ । कोभिड महामारीका करिब तीन वर्ष अन्य मुलुकजस्तै कोरियाली अर्थतन्त्र पनि सुस्ताएको थियो ।
आर्थिक गतिविधि कम भएपछि कामदार पनि धेरै आवश्यक परेका थिएनन् । तर, पछिल्लो समय आर्थिक गतिविधि बढेसँगै कोरियामा विदेशी कामदारको खाँचो बढेको छ । तत्काल कामदार आपूर्ति गर्न कोरियाली सरकारले विगतका केही नीतिनियमलाई
परिवर्तन गरेको छ । विगतमा विदेशी कामदारको कोटा देशअनुसार तोक्दै आएकामा अब जसले चाँडो कामदार पठाउन सक्छ उही मुलुकलाई बढी कोटा दिने नीति कोरियाको छ । कोरियाको यही नीतिको फाइदा उठाउँदै नेपालबाट एक वर्षमै १२ हजार नेपाली त्यसतर्फ गएका छन् ।
केही वर्षदेखि सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सबै प्रक्रिया पूरा गराएर नेपाली युवालाई कोरिया पठाउँदै आएको छ । कोरिया जाने व्यक्तिले सबैभन्दा पहिले भाषा परीक्षा उत्तीर्ण हुनैपर्छ । त्यसपछि अन्य सामान्य प्रक्रियाहरू पूरा गरेर कोटाअनुसार क्रमशः नेपाली युवा कोरिया जान पाउँछन् । भाषा परीक्षादेखि अन्य प्रक्रियामा स्वय कोरियाली सरकारका प्रतिनिधिहरू पनि संलग्न हुने
गरेका छन् । भाषा परीक्षाको फर्म भर्न १–२ किलोमिटरसम्मको युवाको लाइन लाग्ने गरेबाट पनि कोरियाली गन्तव्य नेपाली युवाका लागि कति आकर्षक बनेको छ भन्ने प्रस्ट हुन्छ । ईपीएस प्रणालीमार्फत दक्षिण कोरियामा नेपाली युवा जान लागेको डेढ दशकभन्दा धेरै भइसकेको छ ।
कोरोना संक्रमणका कारण दुई वर्ष लगभग पूरैजस्तो रोकिएको कोरिया रोजगारी गत वर्ष कात्तिकबाट फेरि सुरु भएको हो । कोभिडका अघिल्ला दुई वर्षमा कोरिया प्रवेश गर्ने नेपालीको संख्या १ हजार ४ सय १४ थियो । कोरोना संक्रमणअघिका १४ वर्षमा
कोरियाले वार्षिक औसत ५ हजार श्रमिक नेपालबाट लैजाँदै आएको छ । पछिल्लो एक वर्ष (कात्तिकदेखि कात्तिकसम्म) भने १२ हजार कोरिया पुगेका छन् । नेपाली युवा अहिलेसम्म कोरियामा मुख्य गरी दुई क्षेत्र कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा काम गर्न जाने गरेका छन् । कोरियाले नेपालीलाई मन पराएको अवस्था पनि छ ।
यो वर्ष ईपीएसअन्तर्गत कृषिक्षेत्रमा लिएको भाषा परीक्षा पूरा गरेर ६ सय युवा कोरिया गएको र अझै जाने क्रममा छन् । यस्तै उत्पादनमूलक क्षेत्रमा कोरियाले सुरुमा दिएको ८ हजारको कोटालाई पछि बढाएर १४ हजार बनाएको छ । दुवै क्षेत्रमा गरी यो वर्ष १७ हजार ६ सय ५४ नेपाली कोरिया जाने तयारी छन् । स्वदेशमा रोजगारीको अभाव भएपछि नेपालीका लागि वैदेशिक रोजगारी बाध्यकारी बनेको छ । विदेशी भूमिमा पसिना नबगाएसम्म आफू र आफ्ना परिवारले हातमुख जोर्न समस्या छ ।
सरकारमा बस्नेहरू र ठूला राजनीतिक दलहरूले स्वदेशमा नै रोजगारी उपलब्ध गराउने लोभ देखाउन छोडेका छैनन् । प्रत्येक पाँच वर्षमा हुने आवधिक निर्वाचनमा मत तान्नकै लागि रोजगारी सिर्जना गर्ने वाचा गरिँदै आएको छ । यसपटकको निर्वाचनको दौरानमा
पनि दलहरूले लाखौंको संख्यामा थप रोजगारीका अवसर सिर्जना गर्ने भनेर लोभ देखाउन भ्याए । तर, दैनिक डेढ हजारभन्दा बढीको संख्यामा नेपालीहरू बिदेसिने क्रम रोकिएको छैन । चालू आर्थिक वर्षको तीन महिनामै नयाँ र पुराना गरी सवा २ लाख जनाले रोजगारीका लागि देश छोडेका छन् ।
वैदेशिक रोजगारी पनि कम्ती असजिलो छैन । खाडीका मुलुक र मलेसिया पुग्ने नेपालीलाई असुरक्षित क्षेत्रमा काम गर्नुपर्ने बाध्यता छ । चर्को गर्मीमा काम गर्दा कतिपय युवाले उतै ज्यान गुमाउनुपरेको छ । सरकारले श्रम गन्तव्य मुलुकहरूसँग श्रम सम्झौता एवं
समझदारी गर्न चासो दिएको छैन । श्रम रोजगारीका लागि पौने २ सय मुलुक खुलाएको सरकारले अहिलेसम्म एक दर्जन मुलुकसँग पनि श्रम सम्झौता गर्न सकेको छैन । श्रम सम्झौता नभएका कारण नेपाली युवाको सुरक्षामा प्रश्नचिह्न उठेको छ भने जोखिमयुक्त काम गरे पनि त्यसअनुसार सुविधा पाउनबाट वञ्चित हुनुपरेको छ ।
वैदेशिक रोजगारीको यस्तो कहालीलाग्दो अवस्थामा कोरियाजस्तो सुरक्षित र सुविधा बढी भएको मुलुकले धेरैको संख्यामा नेपाली लिन खोज्नु युवाका लागि खुसीको खबर हो । कोभिड महामारीपछि चर्को कामदार अभाव खेपेको कोरियाले नेपाललगायत विभिन्न १६
राष्ट्रबाट १ लाखभन्दा बढी श्रमिक ल्याउने योजना बनाएको जानकारी आएको छ । कामदार आपूर्तिका लागि उसले विगतको देशगत रूपमा निर्धारण गरिने कोटा प्रणालीलाई हटाएर जसले छिटो श्रमिक पठाउँछ, त्यही देशबाट धेरै दिने नीति लिएको छ । कोरियाले विदेशी श्रमिक माग गर्ने राष्ट्रहरूमध्ये नेपाल छिटोछरितो रूपमा श्रमिक पठाउने मुलुकमध्येमा पर्छ । यही कारण नेपालले आगामी दिनमा अझै धेरै कोटा पाउने सम्भावना बढेको छ । यसलाई सरकारले सही सदुपयोग गर्नुपर्छ ।
#
आर्थिक गतिविधि
#कोरिया रोजगारी
#वैदेशिक रोजगारी





