कतार विश्वकप: कुन रङ्गशालाको कति दर्शक क्षमता?
आगामी ४ मंसिरबाट सुरु हुने कतार विश्वकपको तयारी अन्तिम चरणमा पुगेको छ। विभिन्न देशहरूले विश्वकपको तयारी गरिरहँदा आयोजक कतारले पनि पाहुनाहरूको स्वागतका लागि कुनै कसर बाँकी नराख्ने जनाएको छ।
कतारले लामो समयदेखि अधिक मात्रामा भौतिक पूर्वाधारमा लगानी गर्दै अहिलेसम्मकै महंगो विश्वकपका रूपमा कतार विश्वकपलाई उभ्याएको छ।भौगौलिक रूपमा सबैभन्दा सानो देशले विश्वकप आयोजना गर्दै गर्दा कतार विश्वकप विभिन्न ८ रङ्गशालामा हुँदै छन्।
कतारका ८ रंगशालामध्ये प्रतियोगिताको फाइनल हुने लुसाइल आइकोनिक स्टेडियम सर्वाधिक ठुलो स्टेडिमयका रूपमा रहेको छ। मिडल इस्टकै ठुलो रङ्गशालाका रूपमा रहेको यो मैदानको कुल दर्शक क्षमता ८० हजार रहेको छ।
दोहाबाट १५ किलोमिटर दक्षिणमा रहेको यो मैदानको निर्माण खर्च ७ सय ६७ मिलियन अमेरिकी डलर रहेको छ। यो मैदान ११ अप्रिल २०१७ बाट निर्माण सुरु गरेर २०२० मा तयार गरिएको थियो।
त्यस्तै, दोस्रो ठुलो रङ्गशाला अलखोरमा रहेको अल बायत स्टेडियम हो। जसको दर्शक क्षमता ६० हजार रहेको छ। यो रङ्गशाला ७ सय ७० मिलियन युरोमा निर्माण गरिएको हो।
यो रङ्गशालालाई विश्वकपपछि ३२ हजार सिट क्षमताको बनाइने छ। माथिल्लो चरणका सिटहरू स्थान्तरण गरिने योजना रहेको छ। जसका लागि विदेश या एसियाकपका लागि स्थान्तरण गर्ने तयारी गरिएको छ। खाली ठाउँलाई अन्य खेल, पाँचतारे होटल र सपिङ महलका लागि तयार गरिने जनाइएको छ।
यसैगरी, दोहामा रहेको ९७४ स्टेडियममा ४० हजार दर्शक क्षमता रहेको छ। त्यस्तै, थुमामा स्टेडियमको पनि ४० हजार दर्शक क्षमता रहेको छ। त्यस्तै, अलरायनमा रहेको खालिफा अन्तराष्ट्रिय स्टेडियमको ४५ हजार ४ सय १६ दर्शक क्षमता रहेको छ।
त्यस्तै, दोहामा नै रहेको एजुकेशन सिटी स्टेडियमको दर्शक क्षमता ४५ हजार ३ सय ५० रहेको छ। त्यस्तै, रायनमा रहेको अहमेद विन अली स्टेडियमको क्षमता ४४ हजार ७४० रहेको छ।
आठौँ रङ्गशालाका रूपमा अल वाक्रचमा रहेको अल जानौव स्टेडियम रहेको छ। जसको दर्शक क्षमता ४० हजार रहेको छ।





