सन्दीप लामिछानेविरूद्ध आज मुद्दा दर्ता ! दोषी पाइय यति धेरै हुनेछ सजाय



नाबालिगमाथि बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध आज (सोमवार) सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध आज मुद्दा दर्ता गर्न लागिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार बिदा भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन। प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो ।

प्रहरीका अनुसार, त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरिएको छ । उक्त उफदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय मागदाबी गरेको हो।

यस्तै पीडितलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै मागदाबी समेत गरिएको परिसर स्रोतले बतायो। क्षतिपूर्ति दिन प्रहरीले लामिछानेको सम्पत्ति पनि छानबिन गरेको स्रोतको दाबी छ । प्रहरीले लामिछानेविरूद्ध होटलका सिसिटिभी फुटेज, बयान, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ।

लामिछानेले इन्कारी बयान दिँदै आएका छन्। सन्दीप गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति : २०७९ कार्तिक १४ गते सोमवार