कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दाबोल्दै भक्कानिएर रोए प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शुक्रबार गोरखामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एकाएक भक्कानिए। गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वारसमेत रहेका उनले आफू गोरखामा किन उम्मेदवार बन्न आएँ भन्नेबारेमा बोल्दाबोल्दै घुँक्कघुँक्क गर्न थाले।

माओत्सतुङ चिनियाँ कम्युनिस्ट आन्दोलनमा बिचलन आउँदै गर्दा एकपटक चिनकाङसाङ फर्केको घटना सुनाउँदै उनी घुँक्कघुँक्क गरिरहेका थिए।

माओत्सेतुङ पुनः नयाँ आन्दोलनको ऊर्जा संगाल्न, नयाँ आन्दोलनको तागत बटुल्न चिनकाङसाङ पुगेको स्मरण गरे। ‘अहिले अन्तिम युद्ध लड्न त्यसैगरी गोरखा आएको हुँ,’ उनले भने।

उनले माओवादी आन्दोलनमा विचलन आएको लुकाएर नलुक्ने बताए। पुनः नयाँ आन्दोलनको ऊर्जा बटुल्न गोरखा आएको उनले उद्घोष गरे। आफ्नो युवाकाल वितेको, जनयुद्धको थालनी भएको, युद्धको सैनिक तालिम लिएको, पार्टीको पहिलो हेडक्वाटर भएको जिल्ला गोरखालाई चिनकाङसाङ भएको उनले बताए।

यति बताइरहँदा उनी धेरैपटक रोए। तर आन्दोलन हिंसारहित हुने उनको स्पष्टोक्ति थियो। संसदवादीहरूमध्ये आफूमात्र भ्रष्टाचारमुक्त रहेको उनको दाबी थियो। माओवादीकै कतिपय सांसदहरु भ्रष्टाचारबाट मुक्त नरहेको भन्दै उनले आफू भने भ्रष्टाचारको छिटाबाट टाढा रहेको बताए।

प्रकाशित मिति : २०७९ असोज २९ गते शनिवार