काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारका लागि मुख्यतः मलेसिया जाने कामदारबाट विज्ञापनमा उल्लेखित शर्त विपरीत रकम असुल गरिएको भन्दै कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
वैदेशिक रोजगारमा जाने कामदारलाई अनुचित लागतको बोझबाट मुक्त गर्ने उद्देश्यसहित फ्रि–भिसा, फ्रि–टिकटको निर्णय लागू गरिएको भएपनि व्यवहारमा म्यानपावर कम्पनीहरूले कार्यान्वयन नगरेको पाइएको विभागले दाबी गरेकोे छ ।
विभागका निर्देशक कृष्णप्रसाद भुसालले सोमबारको मिति राखी मंगलबार जारी गरेकोे सूचनामा नेपाल सरकारले वैदेशिक रोजगारीका लागि खुला गरिएका देशहरूमध्ये मलेसिया तथा खाडी मुलुकहरूबाट कामदार माग भई सम्बन्धित देशमा रहेको नेपाली कुटनैतिक नियोगबाट मागपत्र प्रमाणित हुँदाका बखत फ्रि–भिसा, फ्रि–टिकट लगायतका अन्य शुल्क रोजगारदाताले व्यहोर्ने भनी विवरण खुलाई सम्बन्धित म्यानपावर संस्थाले कामदार छनोटका लागि पूर्व स्वीकृति पछिका विज्ञापनमा निःशुल्क भिसा, निःशुल्क हवाई टिकट र निःशुल्क स्वास्थ्य परीक्षण तथा कुनै पनि शुल्क नलाग्ने विज्ञापन गरेपनि कामदारबाट रकम असुली गर्ने र पारदर्शिताको आधारमा छनोट नगरिएको उल्लेख छ ।
कामदार छनोटमा पक्षपात र अनुचितरूपमा रकम असुली गरिएको विषय सार्वजनिक सञ्चारमाध्यममा आएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै विभागले विज्ञापनमा उल्लेख भएअनुसार कामदार छनोट गर्न भन्दै विभागले अन्यथा भएमा वैदेशिक रोजगार ऐन २०६४ र नियमावली अनुसार कारबाही गर्ने बताएको छ ।
ऐनको दफा ५३ मा म्यानपावर कम्पनीले तोकिएभन्दा बढी रकम लिएमा लिएको रकम फिर्ता गर्न लगाई पटकैपिच्छे एक लाख रूपैयाँ जरिवाना गर्ने प्रावधान रहेको छ । २०७२ सालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खाडीका ६ मुलुक र मलेसिया जाने कामदारका हकमा फ्रि–भिसा फ्रि–टिकटको निर्णय गरेको थियो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ तथा अन्य वैदेशिक रोजगार व्यवसायीले हचुवाका भरमा सरकारले ल्याएको उक्त निर्णय कार्यान्वयन नहुने भन्दै परिवर्तनको माग गरिरहेका छन् ।
अन्य देशबाट नआएपनि पछिल्ला दिनमा मलेसियाबाट नेपाली कामदारका लागि उल्लेख्य मात्रामा फ्रि–भिसा फ्रि–टिकटको डिमाण्ड आई केही कामदार पूर्णतः निःशुल्करूपमा आकर्षक तलब सुविधाको रोजगारीमा गइरहेका छन् ।





