विभागको निर्देशन नमान्ने म्यानपावरलाई ‘दफा ५४’ लगाउने चेतावनी



वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारका लागि जाने क्रममा ठगीमा परेको दाबी गर्दै परेका उजुरी फछ्र्यौट गर्न तोकिएका समयमा सम्पर्क नगर्ने म्यानपावर कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ । विभागका निर्देशक कृष्णप्रसाद भुसालद्वारा बुधबार सूचना जारी गरी विभागमा वैदेशिक रोजगारका क्रममा ठगीमा परेका कामदारका उजुरीमा छलफल गर्न पटक–पटक पत्राचार गरी बोलाउँदा समेत केही म्यानपावर कम्पनीका सञ्चालक जानाजान विभागमा उपस्थित नभएर विभागको उजुरी फछ्र्याैट गर्ने काममा असहयोग गरेकोे सार्वजनिक गरेका छन् ।

विभागले भनेको छ, ।।।विभागमा दर्ता भएका उजुरीका सम्बन्धमा यस विभागबाट गरिने पत्राचार, आदेश तथा निर्देशन केही इजाजतपत्र कम्पनीबाट पालन नहुँदा समयमै उजुरी फछ्र्याैट गर्ने कार्यमा सख्त बाधा पुग्न गएको छ । ऐन तथा नियमावलीका व्यवस्था तथा विभागले दिने निर्देशन कार्यान्वयन नगरे ऐनको दफा ५४ बमोजिम कारबाही गर्ने अधिकार ऐनले विभागलाई दिएको समेत विभागले व्यवसायीलाई स्मरण गराएको छ ।’

उक्त दफा ५४ मा ऐन र ऐन अनुसार बनेको नियम, आदेश वा निर्देशन पालना नगर्ने म्यानपावर कम्पनीलाई पहिलोपटक सचेत गराउने, दोस्रो पटक पचास हजार रूपैयाँ जरिवाना र तेस्रो पटक सोही कसुर दोहो¥याएमा एक लाख जरिवाना गरी इजाजतपत्र रद्द गर्न सक्ने प्रावधान छ । आफ्नो कम्पनीका विभागको निर्देशन नमान्ने म्यानपावरलाई ‘दफा ५४’ लगाउने चेतावनीसम्बन्धमा परेका उजुरीमा फछ्र्याैट गर्न जानकारी पाएर पनि सम्पर्कमा नआउने केही म्यानपावर कम्पनीका सञ्चालकको प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको विभागले जनाएको छ ।

वैदेशिक रोजगार ऐन, वैदेशिक रोजगार नियमावली एवं वैदेशिक रोजगार विभागले बेलाबेलामा प्रदान गर्ने नीतिगत मार्गनिर्देशन अवलम्बन गर्नु वैदेशिक रोजगार व्यवसायीको व्यावसायिक कर्तव्य भन्दै त्यसलाई व्यवसायीले अनिवार्यरूपमा पालना गर्नुपर्ने विभागको भनाइ छ । विभागले समयमा सम्पर्क नगर्ने केही म्यानपावर व्यवसायीको असहयोगका कारण पीडित कामदारले दाबी गरेकोे मध्ये फछ्र्याैट हुन बाँकी रहेको बिगोको रकम सार्वजनिक भने गरेकोे छैन ।

केही दिनअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका पीडितहरुलाई तीन महिनाको अवधिमा ४८ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको बताएको थियोे । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले तीन महिने अवधिमा गरेका कामको विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा वैदेशिक रोजगार विभागमा आएको निवेदनका आधारमा पीडितहरूलाई ४८ करोड ४ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको बताएका थिए ।

वैदेशिक रोजगारीको क्रममा भएका ठगीको उजुरी जिल्ला प्रशासन कार्यालयले हेर्ने र उजुरीमा कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउने व्यवस्था करिब तीन वर्षदेखि कार्यान्वयनमा छ । मन्त्रालयले उक्त व्यवस्था पीडितहरूलाई न्याय दिन प्रभावकारी रहेको भन्दै आगामी दिनमा त्यसलाई संघीयताको मर्मअनुसार थप प्रभावकारी बनाउने बताएको छ ।

विभागले दशैं पछाडिका ४ दिनमा दुई वटा सूचना जारी गरेर वैदेशिक रोजगार व्यवसायीप्रति असन्तुष्टि जनाएको छ । मंगलबार विभागले मुख्यतः वैदेशिक रोजगारका लागि मलेसिया जाने कामदारबाट विज्ञापनमा उल्लेखित शर्त विपरीत रकम असुल गरिएको भन्दै कडा कारबाही गर्ने चेतावनी दिएको थियोे । वैदेशिक रोजगारमा जाने कामदारलाई अनुचित लागतको बोझबाट मुक्त गर्ने उद्देश्यसहित फ्रि–भिसा, फ्रि–टिकटको निर्णय लागू गरिएको भएपनि व्यवहारमा म्यानपावर कम्पनीहरूले कार्यान्वयन नगरेको भन्दै ऐनको दफा ५३ अनुसार कारबाही गर्ने विभागले बताएको छ । ऐनको दफा ५३ मा म्यानपावर कम्पनीले तोकिएभन्दा बढी रकम लिएमा लिएको रकम फिर्ता गर्न लगाई पटकैपिच्छे एक लाख रूपैयाँ जरिवाना गर्ने प्रावधान रहेको छ ।
मध्यान्हबाट

प्रकाशित मिति : २०७९ असोज २७ गते बिहिवार