सन्दीप अब १९५ देशका प्रहरीको ‘लोकेट’मा, पक्राउ परे ‘डिपोर्ट’ हुने



१७ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध इन्टरपोललबाट ‘डिफ्युजन नोटिस’ जारी गरिएसँगै उनी १९५ देशका प्रहरीको निगरानीमा छन् ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका लामिछानेमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ ।

भदौ ६ गते सन्दीप ट्वान्टी–२० क्रिकेट खेल्न केन्या प्रस्थान गरेका थिए । त्यहीँबाट उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका गएका थिए ।उनी जमैकामै रहेका बेला उनीविरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी समेत जारी भयो ।

सन्दीपको अहिलेको अवस्था अज्ञात छ । तर, उनले दुईपटक सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको जिकिर गरेका छन् ।सन्दीपलाई अध्यागमन विभागले कालोसूचीमा समेत राखेको छ । उनी जमैकाबाट भने बाहिरिएको खुलेको छ । त्यसपछि उनी कुन देश गए भन्ने सूचना प्रहरीसँग छैन ।

प्रहरीले जाहेरीका आधारमा सन्दीपविरुद्धका प्रमाण संकलन गरेको छ । अनुसन्धानकै क्रममा उनीविरुद्ध डिफ्युजन नोटिस जारी गरिएको छ । डिफ्युजन नोटिस जारी भएपछि १९५ देशका प्रहरीको खोजी सूचीमा सन्दीप हुने नेपाल प्रहरीको इन्टरपोलमा काम गरिसकेका अधिकारीहरू बताउँछन् ।

उनीहरूका अनुसार अब इन्टरपोलका सदस्य राष्ट्रका प्रहरीले सन्दीप आफ्नो मुलुकमा भए/नभएको ‘लोकेट’ गर्नेछन् । यसबाहेक ती देशका विमानस्थलमा समेत सन्दीपको विवरण उपलब्ध हुनेछ ।

ती अधिकारी भन्छन्, “सन्दीपको पासपोर्टलगायतले उनको अवस्था पत्ता लाग्न सक्छ । तर, कुनै साथीको कोठामा लुकेर बसेको भए केही समय लाग्न सक्छ । तर, उनी अन्तर्राष्ट्रिय सेलिब्रेटी भएकाले लुक्न त्यति सहज भने हुने छैन ।”

सन्दीपलाई कुनै देशको प्रहरीले नियन्त्रणमा लिए नेपालसँग सम्वन्य गरेर डिपोर्ट गर्ने सम्भावना रहने प्रहरी अधिकारीहरू बताउँछन् ।सन्दीपलाई पक्राउ गरे पनि ती देशको जेलमा भने राख्न नमिल्ने र जसरी पनि नेपाल पठाउनैपर्ने अवस्था रहने प्रहरी अधिकारीहरूको भनाइ छ ।

सन्दीप आफैँ नेपाल आए पनि विमानस्थलमा सबै विवरण हुने भएकाले उनी उड्ने देशको प्रहरीले नेपाल प्रहरीको इन्टरपोल शाखालाई त्यसको जानकारी दिने प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रकाशित मिति : २०७९ असोज ११ गते मङ्गलवार