मलेसिया हुनेले हेरौं : राजदुत पौडेलले गरे यस्तो आग्रह..
मलेसिया : मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकहरुले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् ।
गैरआवासीय नेपाली संघसहित मलेसियामा रहेका नेपाली संघ–संस्थाहरुले आयोजना गरेको स्वागत कार्यक्रममा राजदूत पौडेलले घर फिर्ती, तलब सुविधा, आवास, कानूनी समस्या तथा स्थानीय प्रशासनसँग सम्बन्धित समस्यालाई तत्काल समाधान गर्न २४ सै घण्टा सञ्चालन हुने गरी श्रमिक सहायता केन्द्र सञ्चालन गरिने बताए ।
विभिन्न कारणले समस्यामा परेका नागरिकहरुको उद्धार तथा समस्या समाधानका लागि कल सेन्टर, कानूनी सहायता तथा सेल्टरलाई व्यवस्थित गरिने उनको भनाइ छ ।
त्यस अवसरमा राजदूत पौडेलले मलेसियामा रहेका नेपाली संघ संस्थाहरुसँग समन्वय तथा सहकार्यलाई विशेष महत्व दिने तथा दूतावास पुग्न नसक्ने स्थानमा नेपाली संघ संस्थाहरुलाई परिचालन गर्ने योजना रहेको बताए ।
नेपाल सरकार तथा मलेसिया सरकारबीच सन् २०१८ अक्टोबरमा भएको श्रम समझदारीमा उल्लेखित श्रमिक अधिकारका विषयहरुको प्रभावकारी कार्यान्वयन आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।
मलेसियामा रहेका नेपालीहरुलाई औपचारिक च्यानल (बैंकिङ च्यानल)बाट मात्र रेमिट्यान्स पठाउन आग्रह गर्दै हुण्डीलगायत अवैध माध्यमको प्रयोगलाई नियन्त्रण गर्ने उनले बताए ।
राजदूत पौडेलले मुलुकको हितका लागि नेपाल र मलेसियाबीचको सम्बन्ध समधुर बनाउन आफू लागिपर्ने बताए । क्वालालम्पुरस्थित होटेल ग्राण्ड कन्टिनेन्टलमा भएको कार्यक्रममा एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापालगायतले पौडेललाई स्वागत गरेका थिए ।
मलेसिया नेपाली कामदारको पनि प्रमुख र आकर्षक श्रम गन्तव्यका रूपमा रहेकोे छ । साढे दुई लाखभन्दा धेरै नेपाली कामदार कार्यरत रहेको मलेसियामा हाल दैनिक २ हजारको संख्यामा जान थालेका छन् । नेपाल आउने रेमिट्यान्समध्ये मलेसियाबाट आउने हिस्सा एक तिहाइभन्दा बढी छ ।





