यती एअरलाइन्सले पूरा गर्‍यो सञ्चालनको २४ वर्ष



यती एअरलाइन्सको हवाई यात्रा २४ वर्ष पूरा भएको छ । तत्कालीन हवाई विभागबाट सन् १९९८ को मे महिनामा व्यावसायिक उडानको अनुमति प्राप्त भएको भए पनि यतीले २१ सेप्टेम्बर, १९९८ मा भएको पहिलो उडान गरेको गरेको थियो ।

एअरलाइन्सले पहिलो उडान गरेको दिनलाई नै हरेक वर्ष वार्षिक उत्सवको रुपमा मनाउने गरेको छ ।नेपालमा हवाईसेवाको विकासमा महत्त्वपूर्ण योगदान रहेको यती एअरलाइन्सको सुरूवात दुई वटा ट्विनअटर वायुयानबाट भएको थियो । २४ वर्षे यात्राका दौरानमा यो एअरलाइन्सले नेपालमा सबैभन्दा धेरै र धेरै प्रकारको वायुयान उडानको अनुभव गरेको एयरलाइन्सले जनाएको छ ।

यतीले डीएचसी–६–३०० ट्विनअटर, डोर्नियर २२०, वाई–१२, ईएमबी–११०, ईएमबी–१२०, साब–३४० बी, जेटस्ट्रिम जे–४१, डीएचसी–६–४०० ट्विनअटर तथा एटीआर–७२–५०० जस्ता ४० भन्दा धेरै वायुयान नेपालमा ल्याएर उडान गरिसकेको छ ।

प्राविधिक, चालकदल तथा अन्य कर्मचारी गरी हाल ७३० जना कर्मचारीहरु एअरलाइन्समा कार्यरत रहेका यती एअरका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।

“यतीको २४ वर्षे यात्रा लगनशील तथा इमान्दार कर्मचारी तथा लगानिकर्ताको संयुक्त योगदानका कारण सफल भएको हो,” बर्तौलाले भने, “साथै, हाम्रा संस्थापक प्रबन्ध निर्देशक स्व. आङ्ग छिरिङ शेर्पाको मार्गदर्शन अविस्मरणीय रहेको छ ।”

एक वर्षको अवधिमा पाँच वटा विमानमार्फत यस एअरलाइन्सले १५ हजार ९२५ उडानमार्फत १० लाख ५ हजार ६७७ यात्रुहरुलाई सेवा दिएको एयरलाइन्सले जनाएको छ ।

यतीले २७ हजार ६६३ विदेशी पर्यटकलाई सेवा दिनुका साथै एक लाख ५४ हजार २८७ कार्गो तथा कुरिएर बोकेको छ । यो अवधिमा यतीको विमान ९ हजार ४६५ घण्टा आकाशमा रहेको एअरलाइन्सले जानकारी दिएको छ ।

हालै एउटा विमान थपेको यतीसँग अहिले ६ वटा एटीआर विमान रहेको छ भने यसै वर्ष एउटा विमान ल्याउने योजना रहेकोसमेत कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज ५ गते बुधवार