टुकुचा खोलाको ‘प्वाइन्ट’ पत्ता लगाउन जय नेपाल हलमा पुग्यो महानगरको डोजर



टुकुचा खोलाको ‘प्वाइन्ट’ पत्ता लगाउन जय नेपाल हलमा पुग्यो महानगरको डोजर

काठमाडौं महानगरपालिकाको डोजर टुकुचा खोलाको प्वाइन्ट पत्ता लगाउन जय नेपाल हलमा पुगेको छ ।लामो समयदेखि अतिक्रमणमा परेर गायब भएको टुकुचा खोलाको प्वाइन्ट पत्ता लगाउन सो क्षेत्रमा पुगेको महानगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताए ।

“हामी मेन ‘प्वाइन्ट’ पत्ता लगाउने प्रयास गरिरहेका छौँ । भर्खर डोजरसहित जय नेपाल हलमा पुगेका छौँ,” उनले भने ।लामो समयदेखि अतिक्रमणमा परेका अवैध संरचना महानगरले भत्काउँदै आएको छ । अहिलेसम्म ३९ ठाउँका अवैध संरचनामा महानगरको डोजर चलिसकेको छ ।

नयाँ ब्रोकरलाई लाइसेन्स : एक–दुई दिनमै आवेदन आह्वान गरिने

नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को पाँचौँ संशोधन गर्दै नयाँ ब्रोकरलाई लाइसेन्स दिन बाटो खुला गरेको छ ।

चौथो संशोधनमा नियम ३ को उपनियम ५ अस्पष्ट थियो । बोर्डले उक्त नियमावली पुनः संशोधनका लागि मन्त्रिपरिषद्मा पठाएको थियो । सो नियमावली संशोधन भएर आएसँगै नयाँ ब्रोकरलाई लाइसेन्स दिने बाटो खुलेको हो ।

बोर्डले नयाँ ब्रोकरलाई लाइसेन्स दिनका लागि आवेदन आह्वानको तयारी गरेको छ । एक–दुई दिनभित्रै आवेदन आह्वान गरिने धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए ।

“बोर्डले नयाँ लाइसेन्सको आवेदन खुला गर्ने तयारी गरिरहेको छ । एक–दुई दिनमा नै यो आवेदन खुला हुनेछ । शुभकार्यमा ढिलाइ हुनु हुँदैन,” उनले भने, “नियमावलीअनुसार पहिलोपटकका लागि लाइसेन्स खुल्नेछ । यो वर्ष खुलेपछि अध्ययन गरेर तीन वर्षपछि आवश्यकता परे नयाँ ब्रोकर लाइसेन्स दिइनेछ ।”

चौथो संशोधनमा नियम ३ को उपनियम ५ मा ‘यो नियमावली प्रारम्भ भएको तीन वर्षपछि बोर्डले धितोपत्र बजारमा उपलब्ध भौतिक सुविधा, बजारको आवश्यकता, प्रतिस्पर्धाको अवस्था समेतको अध्ययन गरी धितोपत्र दलाल र धितोपत्र व्यापारीको लागि नयाँ अनुमतिपत्रको लागि निवेदन माग गर्नेछ’ भन्ने व्यवस्था थियो ।

उक्त नियम ३ को उपनियम ५ संशोधन गरेर ‘यो नियमावली प्रारम्भ भएपछि पहिलोपटक धितोपत्र दलाल र धितोपत्र व्यापारीको अनुमतिपत्र जारी भएपछिको प्रत्येक तीन वर्षमा बोर्डले धितोपत्र बजारमा उपलब्ध भौतिक सुविधा, बजारको आवश्यकता, प्रतिस्पर्धाको अवस्था समेतको अध्ययन गरी धितोपत्र दलाल र धितोपत्र व्यापारीको लागि नयाँ अनुमतिपत्रको लागि निवेदन माग गर्नेछ’ भन्ने व्यवस्था समावेश गरिएको छ ।

यो नियमावली प्रारम्भ भएको वर्ष पहिलोपट ब्रोकर लाइसेन्स दिने र त्यसपश्चात् तीन वर्षपछि आवश्यकता हेरेर मात्र लाइसेन्स दिने व्यवस्था गरिएको छ । चौथो संशोधनमा नियमावली प्रारम्भ भएको तीन वर्षपछि नयाँ ब्रोकर लाइसेन्स दिने उल्लेख थियो । सो वाक्यलाई संशोधन गरेर नियमावली प्ररम्भ भएपछि पहिलोपटक र त्यसको तीन वर्षपछि लाइसेन्स दिन पाउने व्यवस्था गरिएको छ ।

यस्तै, नियमावलीको पाँचौँ संशोधनमा बोर्डले अर्थ मन्त्रालयको स्वीकृति लिई आवश्यकताअनुसार अनुसूचीमा हेरफेर वा थपघट गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि, अनुसूची संशोधन गर्न पनि मन्त्रिपरिषद्को स्वीकृति लिनुपर्ने व्यवस्था थियो ।

प्रकाशित मिति : २०७९ भाद्र ३० गते बिहिवार