नेपाल आउनासाथ पक्राउ पर्ने डरले विदेशबाटै कानुनी परामर्शमा सन्दीप !



नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने विदेशबाटै कानुनी परामर्शमा रहेका बताइएको छ ।

नेपाल आउनेबित्तिकै पक्राउ पर्ने डरले उनी विदेशबाटै नेपालका केही वरिष्ठ कानुन व्यवसायीसँग परामर्शमा रहेका बताइएको छ । जसका लागि केही कानुन व्यवसायी सन्दीपको सम्पर्कमा रहेका प्रहरी अधिकारीहरुको दाबी छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी रवीन्द्र धानुक सन्दीप प्रकरणबारे अनुसन्धान जारी रहेको बताउँछन् । अनुसन्धानकै क्रममा रहेकाले यसबारे धेरै बोल्न नमिल्ने उनले बताए ।

लामिछानेविरुद्ध यही भदौ ५ गते नगरकोट घुमाएर राति काठमाडौं होटलमा ल्याएर एकजना नाबालिग किशोरीलाई बलात्कार गरेको अभियोग छ । बलात्कृत युवतीका आफन्तले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले खोजी गरेको हो ।

लामिछानेविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको छ ।सन्दीपसहितको नेपाली टोली भदौ ६ गते अन्तर्राष्ट्रिय सिरिजका लागि केन्या प्रस्थान गरेको थियो । त्यहाँबाट उनी ‘क्यारेबियन प्रिमियर लिग’ खेल्नका लागि वेष्ट इन्डिज पुगेका थिए ।

निलम्बनमा परेपछि लामिछानेलाई ‘क्यारेबियन प्रिमियर लिग’बाट समेत हटाइसकेको छ । त्यसपछि उनी जमैकाबाट नेपाल जान्छु भनेर निस्किएको स्रोत बताउँछ । तर, सन्दीप वेष्ट इन्डिजमै छन् वा त्यहाँबाट आएर अर्को मुलुकमा छन् भन्ने सूचना सुरक्षा निकायले प्राप्त गरेको छैन ।

सन्दीपलाई अध्यागमन विभागले कालोसूचीमा समेत राखेको छ । सन्दीपले नाबालिग बलात्कारको आरोप लागेपछि सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको दाबी गर्दै नेपाल आएर कानुनी लडाइँ लड्ने उल्लेख गरेका थिए ।

तर, उनी हवाई मार्गबाट नेपाल आइपुगेका छैनन् । सन्दीपविरुद्ध परेको जाहेरीमा भदौ ५ गते राति काठमाडौंको ‘होटेल काठमाडौं इन’मा ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उल्लेख छ ।

प्रहरीका अनुसार होटेल काठमाडौं इनको सीसीटीभी फुटेजमा उनीहरू राति ११ः५५ बजे होटेल प्रवेश गरेको देखिएको छ । बिहान ६ः४५ मा दुवैजना सँगै बाहिर निस्किएको पनि देखिएको छ ।

अहिले नै जारी हुँदैन ‘रेड नोटिस’सन्दीप नेपाल नआएको अवस्थामा अहिले नै इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी हुने अवस्था नरहेको एक प्रहरी अधिकारी बताउँछन् । ‘रेड नोटिस’ जारी भएको अवस्थामा इन्टरपोलका सदस्य राष्ट्रका प्रहरीले जहाँ देख्यो त्यहीँ पक्राउ गर्न सक्छन् ।

तर, उनी आरोपी मात्रै रहेको र अदालतबाट समेत फरार सूचीमा नरहेकाले उनीविरुद्ध ‘रेड नोटिस’को प्रक्रिया नै अगाडी बढाउन नमिल्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रकाशित मिति : २०७९ भाद्र २९ गते बुधवार