टेकबहादुर पुन/मध्यान्ह
दाङ, २६ भदौ । दाङ जिल्लाको मुख्य बजार मध्य एक हो लमही बजार । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने दाङ देउखुरीको प्रमुख व्यापारीक केन्द्रमा पर्छ लमही बजार । त्यही लमही बजारको कुनै एक होटलमा पत्रकारको टिम ग्राहक बनेर जान्छ ।
त्यहाँ जाँदा होटेल साहुजी र अन्य ग्राहक गोप्यमा यौनका कुरा गरिरहेको पत्रकारले सुन्छन् । कोही बार्गेनिङ्गमै व्यस्त हुन्छन् । कोही भने युगल जोडी ओहोर–दोहोर गरिरहेका हुन्छन् । यिनै हर्कतले निश्चित हुन्छ कि त्यहा यौनधन्दा हुने रहेछ ।
पत्रकारको टिम मध्ये कुनै एकजना पत्रकारले ग्राहक बनेर एकजना महिलालाई सोध्छन्, कसरी हो ? पैसाकै निम्ति होटलमा अरुको विस्तारा बनेकी ती महिलाले भन्छिन् ‘१५ सय रूपैयाँ मात्र ।’ स्थानीयको गुनासो पश्चात् पूर्व तयारीसहित पत्रकारको टिम ‘छड्के’ गएको हुन्छ । तर यो कुरा न होटल सञ्चालकलाई थाहा हुन्छ नत ग्राहक न कुनै पेसेवरलाई ।
कुरा गर्दै जाँदा ती महिलाले सबै पोल खोल्छिन् । एकपटक शारीरिक सम्पर्क गरे बापत आफूले १ हजार पाउने र ५ सय रुपैयाँ होटलले लाने गरेको नाम नबताउने सर्तमा ती महिलाले भनिन् । आफ्नो यौन इच्छालाई मेटाउन भिआईपीदेखि प्रहरीसम्म आउने गरेको ती महिलाले बताइन् ।
उमेर अनुसारको यहाँ फरक–फरक रेट कायम रहेको उनको भनाइ छ । यिनै यावत कारणले पनि पछिल्लो समय लमही बजार यौन धन्दाको अखडा बन्दै गइरहेको पुष्टि भएको छ । लमही बजार अन्तरगतका केही होटलहरुमा यौन धन्दा हुने गरेको पाइएको हो ।
यसरी यौन धन्दा हुँदै जाँदा समाजको सभ्यता माथि प्रश्न उठ्ने गरेको छ । लमहीका होटलहरुमा खुलेआम यौन धन्दा बढ्दै जाँदा स्थानीयहरु चिन्तित समेत बनेका छन् । व्यापारका नाममा खुलेआम धन्दा हुँदा पनि स्थानीय सरकार, प्रहरी प्रशासन, होटल व्यवसायी संघ लगायतका निकायहरु मुकदर्शक बनेको स्थानीय भुपाल पाण्डेले बताए ।
‘यहाँ खुलेआम यौन धन्दा हुन्छ, तर कुनै निकायले अनुगमनमा ध्यान दिएन’ पाण्डेले भने । ‘कतै कमिसनको खेल त होइन् ?’ यसरी होटलमा अनैतिक धन्दा हुँदा परिवारसहित गएर खाना खान समेत वातावरण नरहेको अर्का स्थानीय महेश भुसालले गुनासो गरे ।
समाजको सभ्यतालाई ख्याल नै नगरी पैसाकै निम्ति व्यापारीले यौनधन्दा चलाएर समाजको चरित्र हत्या गरिरहेको भुसालले आरोप लगाए । दिन दहाडै होटलमा खुलेआम यौन धन्दा हुँदापनि नियमन गर्ने निकायहरु मुकदर्शक बन्नुले निकायकै मिलोमत्तो होकी भन्ने शंका उत्पन्न हुन थालेको छ ।





