मन्त्रीलाई लाइनमा बस्न लगाउँदा पक्राउ परेका सुरक्षागार्डलाई ५ दिन हिरासतमा राख्न अनुमति



मन्त्रीलाई लाइनमा बस्न लगाउँदा पक्राउ परेका सुरक्षागार्डलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्न लगाएको आरोपमा पक्राउ परेका सुरक्षागार्डमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान सुरु गरिएको छ।

मन्त्रीलाई लाइनमा बस्न लगाएको आरोपमा पक्राउ सुरक्षागार्ड शेरजंग गुरुङमाथि अनुसन्धानका लागि प्रहरीले ५ दिनको समय (म्याद) पाएको छ। गुरुङ अब ५ दिन प्रहरीको हिरासतमै रहने भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले सुरक्षागार्ड गुरुङमाथि अनुसन्धानका लागि ५ दिनको म्याद थप भएको जानकारी दिए। ‘अभद्र व्यवहारको कसुरमा अनुसन्धान सुरु गरिएको छ। अनुसन्धानका लागि ५ दिनको म्याद थप भएको छ,’ एसपी मैनालीले नेपाल लाइभसँग भने।

अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालको इजलासले ५ दिनको म्याद थप गरेको हो।

स्रोतकाअनुसार शुक्रबार मन्त्री श्रेष्ठ ठमेलस्थित छायाँ सेन्टरमा भिसा आवेदनका लागि पुगेका थिए। बायोमेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्ड गुरुङले लाइनमा बस्न लगाएका थिए।

मन्त्रीका पीएसओले श्रेष्ठ मन्त्री भएको भनेर सम्झाउँदा पनि उनले ‘मन्त्रीसन्त्री चिन्दिनँ’ भन्दै लाइनमा बस्न लगाएर दुव्यर्वहार गरेको आरोप लगाइएको छ। पक्राउ परेका सुरक्षागार्ड गुरुङलाई प्रहरी वृत्त दरबारमार्गमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७९ भाद्र १९ गते आइतवार