अनिल कपुरको ‘नायक’ सम्झाउने बालेनको डोजर
काठमाडौं । यतिबेला काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङको अनुमति लिएर व्यवसाय गरिरहेका अवैध संरचना भत्काउन सुरु गरेको छ ।
३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन्द्र साह (बालेन) आफैं फिल्डमा खटिएर भत्काउन निर्देशन दिइरहेका छन् ।बालेनको यो ‘डोजर’ एक्सनलाई लिएर सामाजिक सञ्जालमा प्रशंसा मिलिरहेको छ । प्रशंसकले उनलाई नायकको संज्ञा दिइरहेका छन् भने स्वतन्त्र हुनुको फाइदा भएको बताइरहेका छन् ।
कतिपयले बालेनको सक्रियतालाई २२ वर्षअघि रिलिज भएको भारतीय फिल्म ‘नायक : द रियल हिरो’को मुख्यपात्र शिवाजी रावसँग तुलना गरिरहेका छन् । फिल्ममा उक्त चरित्र अनिल कपुरले निर्वाह गरेकाले बालेनलाई पनि नायक फिल्मकै अनिल कपुर भन्ने पनि छन् ।बालेन मात्र होइन, आफू प्रधानमन्त्री हुँदा डा. बाबुराम भट्टराईले साँघुरा सडकलाई फराकिलो बनाउन होस् वा तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले नारायणहिटी र पशुपति धर्मशालामा लिएको एक्सन । यी परिघटनामा फिल्म नायक ‘क्वाइन’ भयो ।
फिल्म समीक्षक मनोज पण्डित नेपाली समाजमा नायकको खोजी भइरहेको र नागरिकले बालेनमा त्यसको प्रतिविम्ब देखेको बताउँछन् ।काठमाडौंको राजनीति होस् र सामाजिक उथलपुथल हुँदा पटकपटक चर्चामा आउने भारतीय फिल्म नायक खासमा के हो ? काठमाडौंको घटनाक्रमसँगको यसको सान्दर्भिकता के छ ? यसबारे जान्नु अर्थपूर्ण हुनसक्छ ।
पोलिटिकल ड्रामा जनराको उक्त फिल्मलाई एस शंकरले निर्देशन गरेका हुन् । फिल्ममा अनिल कपुर, रानी मुखर्जी, अमरिस पुरी, परेश रावल र जोनी लिवरको प्रमुख भूमिका छ । सन् १९९९ को तमिल फिल्म मुधावनको रिमेकको रुपमा यसलाई लिइन्छ ।
यो फिल्मको केन्द्रीय चरित्रको रुपमा रहेका शिवाज रावको भूमिकामा अभिनेता कपुर छन् । टेलिभिजन क्यामेराम्यान र सञ्चालक हुँदै ऊ कसरी एक दिनको लागि मुख्यमन्त्री बन्छ र दिइएका चुनौतीलाई स्वीकार्दै प्रतिबद्धता पूरा गर्छ भन्ने चित्रण यसले गर्छ ।
राव पात्रले कलेज विद्यार्थी र बस ड्राइभरबीचको झडपको घटनालाई लिएर महाराष्ट्रका मुख्यमन्त्री बलराज चौहान (अमरिस पुरी) प्रहरीसँगको संवाद रेकर्ड गर्छ । उक्त रेकर्ड टीभीमा प्रसारण भएपछि चौहानले रावलाई मुख्मन्त्री बनेर काम गर्न चुनौती दिन्छ । चौहानको उक्त चुनौतीलाई शिवाजी रावले स्वीकार गर्छ ।
एक दिनको मुख्यमन्त्री बन्ने अवसर पाएको शिवाजीले मुख्यमन्त्री हुँदाको दिनको सुरुवात जनताको दैनिकीबाट थाल्छ । उसले खाँचो परेकालाई उपयुक्त आवास र रोजगारीको प्रबन्ध पनि गर्छ । असक्षम र भ्रष्ट सरकारी कर्मचारीलाई निलम्बन गर्छ । दिनको अन्तिम कार्यको रुपमा उसले भ्रष्टाचारको मूल कारण बताउँदै चौहानलाई पक्राउ गर्छ ।
अनिल कपुरको यो फिल्मलाई समीक्षकले निकै रुचाएका थिए । अधिकांश समीक्षकले चाहिं फिल्मलाई मिश्रित प्रतिक्रिया दिएका थिए । नेपाल र भारत मात्र होइन, अन्य मुलुकका राजनीतिक उथलपुथलमा समेत बलिउड फिल्म नायकको चर्चा उठ्ने गरेको छ ।
फिल्म समीक्षक मनोज पण्डित नेपाली समाजमा नायकको खोजी भइरहेको र नागरिकले बालेनमा त्यसको प्रतिविम्ब देखेको बताउँछन् । ‘नेपाली समाजमा नायक भन्न ठूलो काम गर्नु पर्दैन । जनताको मन जित्ने साना काम गरे मात्र पुग्छ । त्यो काम बालेनले गरेका छन्,’ उनी भन्छन् ।
‘अहिले देशलाई चाहिएको नायक हो । राजनीति मार्फत जनताले त्यो नायक नपाएपछि फिल्म मार्फत भए पनि पाएका छन् र त्यसमा उनीहरुले आफ्ना नेताको छवि खोज्नु स्वभाविकै हो,’ पण्डित भन्छन्, ‘देशले खोजिरहेको नायकको स्वरुप फिल्ममा हेर्नुलाई मैले स्वभाविक रुपमा लिएको छु ।’










