साउदी अरब : ट्वीट गरेको आरोपमा एक महिलालाई ३४ वर्षको जेल सजाय



रियाद — साउदी अरबको एक अदालतले ट्वीट गरेको आरोपमा एक महिलालाई ३४ वर्षको जेल सजाय सुनाएको छ ।

बेलायतको लिड्स विश्वविद्यालयमा विद्यावारिधिको अनुसन्धानमा जुटेकी सलमा अल–शेहाबलाई अफवाह फैलाएको र असन्तुष्टि ट्वीट गरेको आरोपमा ३४ वर्षको जेल सजाय सुनाइएको हो । साउदी अदालतको निर्णयको विश्वव्यापी रूपमा निन्दा भएको छ । वासिङ्टनस्थित मानवअधिकार समूह फ्रिडम इनिसिएटिभका अनुसार बिदामा स्वदेशमा रहेकी उनलाई बेलायत फर्कने तयारीमा रहेका बेला गत वर्षको जनवरी १५ मा हिरासतमा राखेर साउदी प्रशासनले कारबाही थालेको थियो ।

विशेष फौजदारी अदालतले उनलाई प्रतिआतंकवाद र साइबर अपराध कानुनअन्तर्गत यात्रा प्रतिबन्धसहित ३४ वर्षको असाधारण कठोर सजाय सुनाएको हो । एसोसिएटेड प्रेसले आफूलाई प्राप्त कानुनी कागजातमा अल–शेहाबले मुद्दा अदालतमा पठाउनुअघि आफूलाई २ सय ८५ दिनभन्दा बढी एकान्त कारावासमा राखिएको न्यायाधीशहरूलाई बताएकी थिइन् ।

फ्रिडम इनिसिएटिभले अल–शेहाबलाई साउदी अरबको सिया मुस्लिम अल्पसंख्यकको सदस्यका रूपमा वर्णन गरेको छ । मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले अल–शेहाबको मुद्दालाई ‘घोर अनुचित’ र उनलाई सुनाइएको सजाय ‘क्रूर एवम् गैरकानुनी’ भन्दै आलोचना गरेको छ ।

न्यायाधीशहरूले अल–शेहाबलाई ‘सार्वजनिक व्यवस्थामा गडबडी’ र ‘सामाजिक संरचनालाई अस्थिर’ बनाउन प्रयास गरेको आरोप लगाएका छन् । आधिकारिक आरोपपत्रमा पनि सामाजिक सञ्जालमा पोस्ट गरिएका उनका विषयवस्तुले झूट र अफवाह सम्प्रेषण गरेको दाबी गरिएको छ । उनले असन्तुष्ट व्यक्तिका खातालाई फलो र रिट्वीट गरेको पनि आरोप लगाइएको छ ।

न्यायाधीशसमक्ष अल–शेहाबले दुई हजारभन्दा कमले पछ्याएको व्यक्तिगत खाताबाट जिज्ञासाका लागि ट्वीट गर्नु र कसैको दृष्टिकोण नियाल्नु आ’तंकवाद नभएको बताएकी छन् ।

प्रकाशित मिति : २०७९ भाद्र ५ गते आइतवार