साउदीस्थित नेपाली दूतावासको वृहत अन्तरक्रिया कार्यक्रम स्थगित
काठमाडौं : साउदी अरबस्थित नेपाली दूतावासले आगामी भदौ पहिलो हप्ता गर्ने गरी तय गरेकोे वृहत अन्तरक्रिया कार्यक्रम स्थगित गरेको छ । विभिन्न कारणले उक्त मुलुकमा कार्यरत नेपाली कामदारको समस्या गहिरिएको भन्दै सुधारका लागि रियादस्थित नेपाली दूतावासले आगामी भदौ ३ गते दूतावासमा वृहत अन्तरक्रिया आयोजना गर्ने तय गरेको थियो ।
दूतावासले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मुख्य नेतृत्व र उक्त मुलुकमा वार्षिक तीन सय बढी कामदार पठाएका म्यानपावर कम्पनीका सञ्चालकलाई अन्तरक्रियामा भाग लिनका लागि पठाउन पत्र पठाएको थियो ।हाल करिब ४ लाख नेपाली कामदार कार्यरत रहेको उक्त मुलुकमा साउदी श्रम कानून, रोजगारदाताको असहिष्णु व्यवहार, नेपाली कामदारको अराजक तथा अज्ञानी व्यवहार र केही म्यानपावर कम्पनीको गैरजिम्मेवार प्रवृत्तिले नेपाली कामदार शोषणमा परेको नेपाली दूतावासले बताएको छ ।
साउदीका लागि नवनियुक्त नेपाली राजदूत नवराज सुवेदी यसै हप्ता साउदी अरब जाने तयारीमा छन् । दूतावासले नवनियुक्त राजदूत सुवेदीले पदभार ग्रहण गरेपछि उनीसँगको सल्लाहमा अन्तरक्रियाको लागि नयाँ मिति तय गरिने बताएको छ । हाललाई रोकिए पनि पूर्वनिर्धारित अन्तरक्रिया छिट्टै गरिने बताइएको छ ।
केही समययता साउदी अरबको रोजगारी विभिन्न कारणले समस्यामा रहेको छ । दूतावासले साउदी अरबको रोजगारलाई पीडित र शोषणमुक्त बनाउन नीतिगत, संरचनागत, प्रक्रियागत, व्यवहारगत र प्रविधिगत सुधार, अन्तरनिकाय सम्बन्ध तथा व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएको छ ।
साउदी अरबमा केही नेपाली व्यापार र सेवा क्षेत्रमा भएपनि अधिकांश नेपाली कम तलब र जोखिमपूर्ण मानिने निर्माण क्षेत्रमा कार्यरत रहेका छन् ।
पछिल्लो अवस्थामा वैदेशिक रोजगारीको सिलसिलामा केही म्यानपावर र अनधिकृत एजेन्टको झुटो आश्वासनमा परी साउदी अरबमा जाने, तर त्यहाँ गएपछि म्यानपावर तथा एजेन्टद्वारा भनिए अनुसारका काम, तलब र अन्य सुविधाहरु नपाउने, विदेश जाँदा चर्को ब्याजमा ऋण लिएर गएको र थोरै तलबमा सन्तुष्ट नहुने, धेरै तलबको प्रलोभनमा पर्ने, अकामा बनाउन समय लाग्ने, नेपाल फर्किन चाहे पनि सहजै नेपाल फर्किन नपाउने, कम्पनी, म्यानपावर एजेन्ट सबैतिर आफ्नो कुरा राखे पनि सुनुवाइ नहुँदा नेपाल फर्कन नसक्ने अवस्थामा केही नेपालीहरु भागेर अलपत्र पर्ने समस्या रहेकोे कामदारहरूले बताउने गरेका छन् ।
तलब नपाउने र अकामा नबन्ने समस्या परेपछि कम्पनी वा नेपाल सरकारबाट सहयोग पाउन कठिन र लामो समय लाग्ने भएकाले कम्पनी छोडेर भाग्ने समस्या साउदीको गम्भीर समस्या रहेको कतिपयको भनाइ छ । यस्तै मलेसियाको रोजगारी खुलेको र तलब पनि बढेका कारण करार अनुसारको तलब सुविधा नपाएको बहानाबाजी गरेर नेपाल फर्काउन कामदारहरुले दबाब दिने प्रवृत्ति पनि उत्तिकै रहेको व्यवसायीहरूको भनाइ छ ।





