युएईबाट आएका दुइ युवा त्रिभुवन विमानस्थलबाट ३२० ग्रामको सुनको औंठीसहित पक्राउ



प्रहरीले विमानस्थलबाट ३२० ग्राम सुनको बेरूवा औंठीसहित दुई जनालाई पक्राउ गरेको छ।

मोरङ विराटनगर महानगरपालिका-१५ रामपुरका विवेक तिम्सिना र दक्षिणकाली नगरपालिका-४ का साजन श्रेष्ठलाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

प्रहरीले विवेक र साजनको साथबाट दुई-दुई थान झन्डै ८० ग्रामको बेरूवा औंठी फेला पारेको जनाएको छ।

बिहीबार नेपाल एयरलाइन्सको उडानद्वारा उनीहरू दुबईबाट काठमाडौं थिए। आगमन टनेल गेटमा शंका लागि चेक गर्दा उनीहरूको साथबाट सुनको बेरूवा औंठी फेला परेको प्रहरीले जनाएको छ।

उनीहरूले औंठी लुकाई-छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला परेको बताइएको छ। प्रहरीले आवश्‍यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाएको जनाएको छ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार