साउदीमा ३ सय बढी कामदार पठाउने म्यानपावर संचालकहरुलाई नेपाली दूतावासको उर्दी



साउदीमा ३ सय बढी कामदार पठाउने म्यानपावर संचालकहरुलाई नेपाली दूतावासको उर्दी

काठमाडौं : साउदी अरबस्थित नेपाली दूतावासले उक्त मुलुकमा रोजगारीका लागि पुगेका नेपाली कामदारको समस्या गहिरिएको भन्दै सुधारका लागि वृहत अन्तरक्रिया गर्ने तयारी गरेकोे छ ।

हाल करिब ४ लाख नेपाली कामदार कार्यरत रहेको उक्त मुलुकमा साउदी श्रम कानून, रोजगारदाताको असहिष्णु व्यवहार, नेपाली कामदारको अराजक तथा अज्ञानी व्यवहार र केही म्यानपावर कम्पनीको गैरजिम्मेवार व्यवहारले नेपाली कामदार शोषणमा परेको नेपाली दूतावासले बताएको छ ।

नेपाली कामदारको सुरक्षा र सुरक्षित भविष्यका बारेमा आगामी भदौ ३ गते रियादमा वृहत अन्तरक्रिया आयोजना गरिने भन्दै दूतावासले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मुख्य नेतृत्व र उक्त मुलुकमा तीन सय बढी कामदार पठाएका म्यानपावर कम्पनीका सञ्चालकलाई अन्तरक्रियामा भाग लिनका लागि अनिवार्यरूपमा पठाउन पत्र पठाएको छ ।

साउदी अरबको रोजगारलाई पीडित र शोषणमुक्त बनाउन नीतिगत, संरचनागत, प्रक्रियागत, व्यवहारगत र प्रविधिगत सुधार, अन्तरनिकाय सम्बन्ध र व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने दूतावासको भनाइ छ ।

नेपाली कामदार कार्यरत रहेको साउदी अरबमा केही नेपाली व्यापार र सेवा क्षेत्रमा भएपनि अधिकांश नेपाली कम तलब र जोखिमपूर्ण मानिने निर्माण क्षेत्रमा कार्यरत रहेका छन् ।

पछिल्लो अवस्थामा वैदेशिक रोजगारीको सिलसिलामा म्यानपावर र एजेन्टको झुटो आश्वासनमा परी नेपालीहरु साउदी अरबमा जाने, तर त्यहाँ गएपछि म्यानपावर तथा एजेन्टद्वारा भनिए अनुसारका काम, तलब र अन्य सुविधाहरु नपाउने, विदेश जाँदा चर्को ब्याजमा ऋण लिएर गएको र थोरै तलबमा सन्तुष्ट नहुने, धेरै तलबको प्रलोभनमा पर्ने, अकामा बनाउन समय लाग्ने, नेपाल फर्किन चाहे पनि सहजै नेपाल फर्किन नपाउने, कम्पनी, म्यानपावर, एजेन्ट, वैदेशिक रोजगार, सबैतिर आफ्नो कुरा राखे पनि सुनुवाइ नहुँदा नेपाल फर्कन नसक्ने अवस्थामा केही नेपालीहरु भागेर अलपत्र पर्ने समस्या रहेकोे कामदारहरूले बताउने गरेका छन् ।

तलब नपाउने र अकामा नबन्ने समस्या परेपछि कम्पनी वा नेपाल सरकारबाट सहयोग पाउन कठिन र लामो समय लाग्ने भएकाले कम्पनी छोडेर भाग्ने समस्या साउदीको गम्भीर समस्या रहेको कतिपयको भनाइ छ । यस्तै मलेसियाको रोजगारी खुलेको र तलब पनि बढेका कारण बहानाबाजी गरेर नेपाल फर्काउन कामदारहरुले दबाब दिने प्रवृत्ति पनि उत्तिकै रहेको व्यवसायीहरूको भनाइ छ ।

साउदी अरबले ‘साउदी टाईजेशन’ अर्थात रोजगारी, व्यापार र सेवामूलक क्षेत्रको काममा स्थानीय साउदी नागरिकलाई प्राथमिकता दिने र आप्रवासी कामदारलाई भिसामा तोकिए बाहेकको काममा सीमित गराउन थालेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । मध्यान् डेलि बाट

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार